म्यूजिकल फिल्म ‘रमाइलो तिहार’ निर्माण

म्यूजिकल फिल्म ‘रमाइलो तिहार’ निर्माण


काठमाण्डु-परदेशमा रहेका दाजु–भाइ र दिदी–बहिनीको भावनात्मक कथा समेटेर म्यूजिकल फिल्म रमाइलो तिहार निर्माण गरिएको छ ।

यस फिल्मले विशेष रूपमा विदेशमा रहेका नेपालीहरूको संस्कृतिक, पारिवारिक सम्बन्ध, र चाडपर्वमा घरको सम्झना झल्काउँछ । लामो समयदेखि विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टीका र मखमली माला लगाई दीर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मियता यसमा देखाइएको छ । भाइले आफ्नो पोडकास्टमा दिदीलाई अतिथि बनाउँदा, उनले गरेको एउटा गम्भीर प्रश्नले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको वेदनालाई उजागर गर्छ, जसले वर्तमान सामाजिक संरचना र प्रवृत्तिलाई पनि औंल्याउँछ ।

यस फिल्मका निर्देशक जोयस पाण्डे हुन् । दशकपछि उनले तिहारको पारिवारिक र सांस्कृतिक सन्देशलाई म्यूजिकल शैलीमा प्रस्तुत गर्दै रमाइलो तिहार निर्देशन गरेका छन् ।

म्यूजिकल फिल्ममा प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत छ । अमेरिकामा ह्यप्पी होम स्टुडियोजको निर्माणमा बनेको यस फिल्मको सम्पूर्ण छायांकन अमेरिकामै गरिएको हो । मुख्य कलाकारहरूमा पूजा चन्द, राज वल्लभ कोइराला, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडा, दिलिप श्रेष्ठ, अपार श्रेष्ठ आदि छन् । समीर रेग्मीलाई यस फिल्ममा नेपाली कला र संस्कृति प्रति समर्पित पात्रको रूपमा देखाइएको छ । ताइवानका चिनइन गावोले यसको छायांकन गरेका छन् भने नेपालको ख्यातिप्राप्त सम्पादक निशान घिमिरेले सम्पादन गरेका छन् ।