रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने जी७ को निर्णय

रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने जी७ को निर्णय


काठमाण्डु – संसारका सबैभन्दा धनी राष्ट्रको समूह जी७ का नेताहरूले रोक्का राखिएको रूसी सम्पत्तिबाट भएको नाफाबाट किएभलाई सहयोगस्वरूप ५० अर्ब डलर दिने निर्णय गरेका छन् ।

शुक्रबार विज्ञप्तिमार्फत ७ धनी प्रजातान्त्रिक समूहका नेताहरूले यस वर्षको अन्त्यसम्ममा ऋण वितरण सुरु गर्ने लक्ष्यका साथ लगभग ५० अर्ब डलर ऋण कसरी वितरण गर्ने भन्ने कुरामा सहमति भएको जनाएका छन् ।

‘युक्रेनको बजेट, सैन्य र पुनर्निर्माणलाई सहयोग गर्न धेरै च्यानलमार्फत ऋण वितरण गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकले आयोजना गरेको बैठकका लागि यस हप्ता वासिङ्टनमा विश्व वित्तीय नेताहरू भेला भएपछि उनीहरूको घोषणा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘युक्रेनलाई आवश्यक पर्ने समर्थन दिने हाम्रो संकल्पबाट हामी पछि हट्ने छैनौं,’ समूहले प्रतिबद्धता जनाएको छ ।

उनीहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन् ।