विद्यापति मैथिली साहित्यका महाकविको रूपमा विभूषित छन् । उनी ईसाको चौधौँ शताब्दीको मध्य (अनुमानित ई.१३५०)मा जन्मेका थिए । सयवर्षको लामो आयु बाँचेका विद्यापति ठाकुरको सौह्रौँ शताब्दीको अन्तसम्म निर्विवाद रूपमा नेपाल र समस्त उत्तर भारतमा व्याप्त भइसकेको थियो ।
हुन त उनले अवहट्ट (तत्कालीन समाजमा प्रचलित मैथिली प्रवृत्तिको अपभ्रंश)मा कीर्तिलता र कीर्तिपताका र संस्कृत भाषाका अनेकौँ कृति सृजना गरेका छन् )। तर, उनलाई युगान्तकारी अमर बनाउने उनका पदावलीहरू छन् । छ सय वर्ष बितिसक्दापनि विद्यापतिका गीतहरू मैथिलीमात्र होइन, बांगला, उडिया, भोजपुरी, मगही भापिक समुदायमा घरघरमा अहिलेपनि सांस्कृतिक हार्दिकतासहित गाइन्छन्, सुनिन्छन् ।
उनका पदहरूको अनुकरण गरेर गीत लेख्नेहरू अनेकानेक कविहरू भए, तर उनीजस्तो जादू कसैले पनि उत्पन्न गर्न सकेनन् । नेपालमा प्रताप मल्ल र जगज्योति मल्लजस्ता कयौँ मल्ल राजाहरूले विद्यापतिका गीतहरूको अनुकरण गर्दै कृष्ण र शिवको स्तुति लेखेको पाइन्छ ।
विद्यापतिका पदावलीहरूमा संग्रहित गीतहरू मूख्यतः राधा–कृष्णको शृङ्गगारिक प्रेम प्रसंग र शिव पार्वतीको गार्हस्थ्य जीवन भावका महेशवाणी र भक्तिभावका नचारी गीतमा केन्द्रित छ । यस अतिरिक्त दुर्गा, गंगा, जानकीको बन्दना तथा केही फुटकर अन्य भावका गीतहरू छन् ।
महाकवि विद्यापतिका जिजुबाजे वीरेश्वर ठाकुर सिमरौनगढ केन्द्र बनाएर तिरहुत राज्य सञ्चालन गरेका कर्णाटवंशका अन्तिम राजा हरिसिंह देवका भाण्डारिक थिए । विरेश्वर ठाकुरका सातभाई मध्येका एक चन्डेश्वर ठाकुर हरिसिंह देवका प्रधान सेनापति थिए, जसले काठमाडौं उपत्यका (तत्कालीन भक्तपुर राज्य)मा आक्रमण गरेर कम्तीमा साढे दुई वर्ष राज्य गरेका थिए ।
महाकवि विद्यापतिको जन्म हालको भारत बिहारको मधुबनी जिल्लामा पर्ने बिसफी गाउँमा भएको थियो । उनी तत्कालीन मिथिलाका ओइनिवारवंशी राजा शिवसिंहका बालसखा र राजकवि थिए । हुन त आफ्नो सय वर्षको जीवनमा उनले मृत्यु पर्यन्त आठवटा शासक बेहोरेका थिए, तर उनको हार्दिकता भने मित्र शिवसिंहसँग सबैभन्दा बढी थियो । राजा शिवसिंह भारतमा जौनपुरको नवाबसँगको युद्धमा फँसेपछि रानी लखिमा देवी र राजपरिवारका सदस्यहरूसहित सुरक्षित आश्रयको उद्देश्यले उनी तत्कालीन सप्तरी जनपदको बनौलीमा शरण लिन आएका थिए । त्यतिबेला सप्तरी जनपदका द्रोणवारवंशी राजा पुरादित्य राजा शिवसिंहका मित्र थिए । विद्यापतिको नेपाल प्रसंगको सुरूआत यहीँबाट हुन्छ ।
जौनपुरको नवाबसँगको युद्धपछि शिवसिंहबारे इतिहासमा स्पष्ट छैन । केहीले युद्धमा पराजित भएर राजा शिवसिंह अज्ञातस्थल तर्फ पलायन भएको र केहीले उनी युद्धमा नै मारिएको भनेका छन् । जे होस, त्यसपछि लामो समयसम्म शिवसिंहको राज्य अस्तव्यस्त रहेको बुझिन्छ । विद्यापति बाह्र वर्षसम्म हाल नेपालमा पर्ने सप्तरी जनपदमा बसे । यसै क्रममा उनले राजा पुरादित्यको आदेशमा राजकीय पत्र लेखन, पत्र व्यवहार तथा राजकाजको विविध अवसरमा लेखिने कागज पत्रको ढाँचा सम्बन्धी ‘लिखनावली’ नामक ग्रन्थको रचना गरेका थिए । उनले रानी लखिमादेवीको आदेशमा ‘श्रीमद्भागवत्’ प्रतिलीपि सारेका थिए । यसरी नै केही विद्वानहरूको मतमा विद्यापतिको पदावलीमा संग्रहित अधिकांश भक्तिप्रधान स्तुति गीतहरू पुरादित्यको आश्रयमा रहँदाको बखत लेखिएको हो ।
नेपालमा बनौली गाउँ सप्तरी, सिरहा र महोत्तरीमा छ । अर्कोतिर विद्यापति बसेको बनौलीबारे विद्वानहरूमा मतभेद छ । केहीले महोत्तरी, त केहीले सिरहा र केहीले सप्तरीको बनौली रहेको दाबी गरेका छन् । मधेश प्रदेश सरकारको सहयोगमा महोत्तरीको बनौली गाउँमा विद्यापति द्वारसमेत निर्माण गरिएको छ । यद्यपि तथ्यहरू महोत्तरीको भन्दा सप्तरी र सिरहाको दाबी बढी तथ्य संगत देखिन्छ । राजा पुरादित्य सप्तरी जनपदको भएकोले विद्यापतिले आश्रय लिएको बनौली त्यहाँकै हो भन्ने दाबी सप्तरीवासीको छ ।
जहाँसम्म हालको सिरहाको बनौलीको दाबी छ, सिरहाको पताइर पोखरी नजिक लाटीबौकी देवीको मन्दिर छ । त्यस क्षेत्रमा प्रचलित किम्बदन्ती अनुसार लाटीबौकी शिवसिंंहकी रानी लखिमा देवी हुन् । तराईका प्रमुख जनजाति मध्येको एक दोनवार समुदायले लाटीबौकी देवी अर्थात् लखिमादेवीलाई आराध्यदेवी मान्छन् । वैशाख १ गते मैथिलीभाषी समुदायले मनाउने जुडशीतल (स्थानीय भाषामा सिरूवा) पर्वका दिन उनीहरू लाटीबौकी मन्दिरमा पूजा गर्छन् । त्यसदिन त्यहाँ मेला लाग्छ । दोनवारहरूको मान्यता अनुसार युद्धमा राजा शिवसिंंहको मृत्युको खबर सुनेपछि रानी लखिमादेवी अचेत र ज्ञानशून्य भएकी थिइन् । पछि उनले कुशको राजा शिवसिंहको शवको प्रतीक बनाएर त्यससँगै सती भएकी थिइन् । दोनवार समुदायले यिनै शोकग्रस्त, मौन र ज्ञानशून्य रानी लखिमादेवीलाई लाटी बौकीदेवी मानेर पूजा गर्छन् । यसै आधारमा सिरहालीहरूले विद्यापति यसै क्षेत्रमा बसेको दाबी गर्छन् । दोनवारको सघन बस्ती र लाटीबौकीदेवीको प्रसंगको कारण सिरहाको दावीलाई पनि एकदमै उपेक्षा गर्न सकिँदैन ।
महोत्तरीको बनौलीमा पुराना डीह र पोखरी देखाएर त्यहाँका विद्वानहरूले यसै डिहमा विद्यापति बसेको दाबी गर्छन् । यसको एउटा आधार, विद्यापति रचित ‘लिखनावली’को सन् १९०१मा प्रकाशित संस्करणको प्रकाशकीयमा मैथिलीका प्रसिद्ध कविश्वर चन्दा झा लिखित ‘प्राचीन मिथिला इतिहास’ बाट उद्धृत गर्दै ‘लखिमारानी आदि नेपाल तराई राज बनौली जनकपुरको निकट छ, त्यहाँ यवनराजको भयले गर्दा बस्न थालिन’ भनेर लेखिएको छ । तर ऐतिहासिक तथ्यहरूले यसलाई समर्थन गर्दैन । विद्यापतिकालमा महोत्तरी (महुतरी)मा ओइनिवारवंशीहरूको शासन थियो । यो राज्यवंश राजा शिवसिंहकै वंशको एउटा शाखा थियो, जोसँग शिवसिंहको सम्बन्ध राम्रो थिएन । त्यतिबेला महुतरी राजको राजा अर्जुन थिए । एकपटक उनले राजा शिवसिंहसँग दुर्व्यवहार गरेका थिए । र, आफ्ना मित्रको अपमान गरेको प्रतिशोधस्वरूप सप्तरी जनपदका राजा पुरादित्यले राजा अर्जुनको वध गरिदिएका थिए । यसबारे विद्यापतिले ‘लिखनावली’को पुष्पिकामा उल्लेख गरेका छन्–
“जित्वा शत्रुकुलं तदीय वसुभिर्यैनार्थिनस्तप्पिता
दोद्र्दप्पार्जित सप्तरी जनपदे राज्यास्थितिः कारिता ।
सङग्रामेऽर्जुनः भूपतिर्बिनिहतो बन्धौ नुशंसयित
स्तेनेयं लिखनावली नृपपुरादित्येन निर्मापिता ।।”
(डा. इन्द्रकान्त झा, विद्यापतिकृत लिखनावली, पटना–१६: श्रोत–डा. प्रफुल्लकुमार मौन, नेपालमा मैथिली साहित्यको इतिहास)
अर्थात्, शत्रुलाई पराजित गरेर उसको धनराशिबाट याचकवृन्दलाई सन्तुष्ट गरे, आफ्नो भुजबलोपार्जित सप्तरी राज्यमा राजसत्ता स्थापित गरे तथा युद्धमा आफ्नो बन्धु (शिवसिंह) सँंग निर्दय व्यवहार गर्ने अर्जुन राजालाई वध गरे, त्यो राजा पुरादित्यले यस लिखनावलीको रचना गराएका थिए ।
महुतरीको ओइनिवारवंशका राजा ‘राय अर्जुन’लाई पुरादित्यले वध गरेर दोणवारहरूको सत्ता महुतरीसम्म फैलाएको भनेर इतिहासकार हेमिल्टनले पनि चर्चा गरेका छन् ।
यस्तोमा रानी लखिमासहित विद्यापति महुतरीको बनौलीमा आश्रय लिन जानु सुरक्षाको दृष्टिले समेत स्वाभाविक देखिँदैन । जे होस्, बनौलीको कुन दाबी ठिक हो, भन्ने विशद् अनुसन्धानको विषय हो । विद्यापतिको नेपाल प्रसंग (सप्तरीजनपद बास) नेपाली इतिहासको दृष्टिले पनि महत्वपूर्ण छ ।
नेपालको इतिहासको अधिकांश ज्ञात भाग काठमाडौँ र गोर्खा राजवंश केन्द्रित रहेकाले देशका अन्य भागको प्राचीन इतिहास ओझेलमा छ । चुरेभन्दा दक्षिण समथर तराईको इतिहास त झन् बढी ओझेलमा छ ।
ज्ञानमणि नेपाल र राजाराम सुवेदी जस्ता केही इतिहासकारहरूले यसतर्फ केही काम गरेको देखिए पनि पर्याप्त छैन । लिखनावली मात्र पत्र व्यवहारका कृति होइनन्, यसमा तत्कालीन सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशबारे पनि चर्चा गरिएको छ । उदाहरणको निम्ति, लिखनावलीमा त्यतिबेलाका अभिजात्य वर्गले आफूकहाँ दाससरह काम गर्ने शूद्रको निम्ति शूद्री पत्नीको खरीद गरिदिने गरेको उल्लेख छ । यसप्रकारको एउटा शुद्री खरीद बिक्रीको कागजको ढाँचा लिखनालीमा पाइन्छ ।
यसरी नै पुरादित्यबाट मारिएका महुतरीका राजा अर्जनको ओइनिवार वंशकी सम्बन्ध काठमाडौँका मल्ल राजाहरूसँग जोडिन्छ । राष्ट्रिय अभिलेखालयमा सुरक्षित हस्तलिखित ‘हरिवंश’ पुस्तकको पुष्पिकावाक्य अनुसार महुतरी भगवतीपुरका ओइनिवारवंशी राजा कीर्तिनारायणको छोरी लालमती प्रताप मल्लकी कान्छी रानी थिइन् । यस दृष्टिले पनि विद्यापतिको सप्तरी बसाईको प्रसंगबारे तथ्यात्मक अनुसन्धानले नेपालको इतिहासको कयौँ अज्ञात पक्ष उजागर गर्न सक्छ ।
सिर्जनात्मकताको दृष्टिले विद्यापति विराट क्षमताका सर्जक थिए । तर उनको कीर्तिलाई अमर बनाउने कृति पदावली रहेको पहिले नै भनियो । विद्यापति पदावली मैथिली, भोजपुरी मात्र होइन, काठमाडौँ उपत्यकामा नेवारी समुदायमा पनि भजनको रूपमा गाइने गरिन्छ । त्यसरी नै थारू तथा दनुवार समुदायमा पनि विद्यापतिको पदहरू प्रचलित छन् ।
रोचक तथ्य के छ भने विद्यापति पदावली कयौँ शताब्दीसम्म बंगाली पदको रूपमा श्रुति परम्परामा जीवित रह्यो । विशेष गरेर बंगालका गौडीय वैष्णवभक्तहरूले यसलाई भजनको रूपमा सुरक्षित राखे । विद्यापतिको पदको सबैभन्दा प्राचीन संग्रह विश्वनाथ चक्रवर्तीको ‘क्षणदागीत चिन्तामणि’ (१७०५) र अठारौँ शताब्दीमा राधामोहन अंकुरद्वारा संकलित ‘पदामृत समुद्र’ हो । तर विद्यापतिको पदको संकलनसम्बन्धी ठोस कार्य शारदाचरण मित्रले गरेका थिए । गंगा नदीको मैदानी क्षेत्रमा विकसित नवआर्य भाषाका प्रसिद्ध अनुसन्धाता जर्ज अब्राहम ग्रियर्सनले सन् १८८१ मा गायकहरूको मुखबाट सुनेर ८२ वटा पदहरूको संकलन गरेका थिए । त्यसपछि बंगालका एक जना विद्वान नगेन्द्रनाथ गुप्तले ‘विद्यापति पदावली’को सम्पादन गरे । विद्यापतिको गीतहरूको बारेमा थुप्रै जनाले संग्रह प्रकाशित गरेका छन् । तर प्रायः सबै नगेन्द्रनाथ गुप्तको संकलनको आधारमा नै गरेको देखिन्छ । विद्यापति पदावलीको मैथिलीका अतिरिक्त नेपाली, हिन्दी र अंग्रेजी लगायत विभिन्न भाषामा अुनवाद भएको छ । प्रकृति, प्रेम, शृङ्गार, भक्ति र जीवनका दैन्यभावका अनुपम कवि विद्यापति मैथिली मात्र होइन, नेपालका पनि गर्व हुन् ।
आफ्नो ‘मैथिली क्रिस्टोप्याथी’ नामक अनुसन्धानात्मक कृतिमा ग्रियर्सनले विद्यापतिलाई आफ्नो युगको सम्पूर्ण प्रतिनिधित्व गर्ने, साहित्यको इतिहासमा अतुलनीय (अनप्यारालल्ड इन द हिस्ट्री अफ लिटरेचर) भनेका छन् । विद्यापतिका गीतहरू सन्देशको दृष्टिले भाग्यवादी, भोगवादी र वृद्धावस्थाको निरीह धार्मिक स्तुतिवादी पुरातन चिन्तनको रचना नै छन् । वर्तमान कालको आधुनिक अग्रगामी मानवीय चेतनाको दृष्टिले यसमा उल्लेख गर्न लायक केही छैन । तर उनका शास्त्रीय देवता र देवीहरूका स्तुतिहरू र काव्यिक शैलीका गीतहरू सामान्य घरेलु महिलाहरूको कन्ठमा समेत सयौं वर्षदेखि लोकगीत सरह जीवित रहुनले उनको विराट कला सामथ्र्यको जीवन्त उदाहरण हो । काव्यिक परम्परामा यस्तो उदाहरण दुर्लभ छ ।
प्रतिक्रिया