बदलिन सक्छ अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम

बदलिन सक्छ अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम


काठमाण्डु-नोभेम्बर ५ मा हुन लागेको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा यसपटक निकै तीव्र प्रतिस्पर्धा हुने मत सर्वेक्षणहरूले देखाएका छन् ।

मत सर्वेक्षणहरूले कैयौँ अनिर्णीत र महत्वपूर्ण राज्यमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच साँघुरो मतान्तर देखाइरहँदा देशबाहिर रहेका अमेरिकी मतदाताहरू निर्णायक बन्न सक्ने कतिपयको आकलन छ ।

अमेरिकाको सङ्घीय मतदान कार्यक्रमको एक आकलनअनुसार १८ वर्ष पुगेका र मतदानका लागि योग्य रहेका करिब ३० लाख अमेरिकीहरू स्थायी वा अस्थायी रूपमा देशबाहिर बसिरहेका छन् ।

यी मानिसहरूमा सेनामा काम गरिरहेका व्यक्तिदेखि अमेरिकी कूटनीतिज्ञ, तिनका परिवार र अध्ययनका लागि देशबाहिर रहेका व्यक्ति पर्छन् ।

प्रवासी अमेरिकीहरूको मत उनीहरूको वा उनीहरूका सबैभन्दा नजिकका आफन्तको अन्तिम बसोबासको ठेगाना भएको राज्यमा गणना हुने व्यवस्था छ ।

अमेरिकाको निकै जटिल निर्वाचन प्रणालीमा राष्ट्रपति बन्न देशभरि सबैभन्दा धेरै मत पाइरहन आवश्यक छैन । धेरै राज्यहरूमा चुनाव जित्ने उम्मेदवार राष्ट्रपति बन्ने व्यवस्था अमेरिकामा छ । जसको निर्धारण इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलले गर्छ ।

हरेक अमेरिकी राज्यहरूमा जनसंख्याका आधारमा निश्चित इलेक्टोरल कलेज मतको संख्या निर्धारण गरिएको छ । कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो । अमेरिकामा ५० राज्य छन् । ती राज्यसँग भएको इलेक्टोरल कलेज मतको कुल संख्या ५३८ छ ।

अमेरिकाको द डेमोक्रेटिक नेसनल कमिटीका अनुसार यस्ता सात वटा राज्यका १६ लाख योग्य मतदाताहरू देश बाहिर छन् । तर अमेरिकामा सम्पूर्ण मतदाताको संख्याको तुलनामा हेर्ने हो भने विदेशमा रहेका मतदाताहरूको मत समुद्रमा पानीको थोपा जस्तै हो । सन्

२०२० को अमेरिकी निर्वाचनमा खसेको १६ करोड १० लाख मतमध्ये नौ लाख मत मात्रै देशबाहिर रहेका नागरिकहरूको थियो । तर निकै कम मत अन्तरको प्रतिस्पर्धा हुने अवस्थामा भने देशबाहिर रहेका मतदाताहरू निर्णायक हुन सक्ने त्यसले प्रष्ट देखाएको छ ।

सन् २००० मा जोर्ज डब्ल्यू बुशले एल गोरलाई पराजित गरेको भए पनि गोरले देशभरिबाट पाएको मत बुशकोभन्दा झन्डै पाँच लाख बढी थियो । उक्त निर्वाचनमा सबैभन्दा तीव्र प्रतिस्पर्धा फ्लोरिडा राज्यमा देखिएको थियो । सन् २०२० मा अहिलेका राष्ट्रपति जो बाइडनले पनि जोर्जा र एरिजोना राज्यमा निकै कम मत अन्तरले जित हासिल गरेका थिए । ती प्रत्येक राज्यमा प्रवासी अमेरिकीहरूको १८,००० भन्दा धेरै मत खसेको अमेरिकी प्रवासी मतदाताहरूलाई मतदानमा सहभागी हुन सहजीकरण गर्दै आएको डेमोक्रेटिक पार्टी निकट संस्थाकी अभियानकर्मी शरोन मनित्ता बताउँछिन् । ‘उक्त तथ्याङ्कले पनि विदेशबाट आउने मत कति महत्वपूर्ण छ भन्ने देखाउँछ,’ उनी भन्छिन् ।

अमेरिकी नागरिकहरू क्यानडा, मेक्सिको, यूके र इजरेलसहितका देशमा उल्लेख्य संख्यामा छन् । त्यस्ता राज्यमा सामाजिक सञ्जालमार्फत् प्रचार र मतदाताहरूबीच सञ्जाल बनाउन सन् २०२४ मा अमेरिकाको डेमोक्रेटिक पार्टीले तीन लाख अमेरिकी डलर खर्च गरेको छ ।

रिपब्लिकन पार्टीले पनि विदेशमा रहेका अमेरिकीहरूलाई आफ्ना उम्मेदवारलाई मत मागिरहेको छ । देश बाहिरबाट गरिने मतदान अमेरिकामा यसअघि नै विवादको विषय बनिसकेको छ । रिपब्लिकन पार्टीले तीन वटा राज्यमा यसलाई रोक्न माग गर्दै मुद्दा दर्ता गरेको छ ।

नर्थ क्यारलाइना र मिशिगनमा मतदाताहरूका आफन्त भएकै आधारमा स्वयं मतदाता कहिल्यै बसोबास नगरेको राज्यमा उनीहरूलाई मतदानको अधिकार दिने वा नदिने विषय विवादको केन्द्र बनेको छ । दुवै मुद्दा न्यायाधीशले खारेज गरे पनि रिपब्लिकनहरूले त्यसविरूद्ध पुनरावेदन गर्ने बताएका छन् ।

पेन्सिल्भेनियामा प्रशासनले विदेशबाट मतदान गर्नेहरूको परिचयपत्र र योग्यताबारे पर्याप्त जाँच नभएको विषयमा मुद्दा परेको छ ।

यदि नोभेम्बर ५ को मत परिणाममा निकै नजिकको प्रतिस्पर्धा देखियो भने प्रवासी अमेरिकीहरूको मत पुनः चर्चाको केन्द्रमा आउँनेछ । बीबीसीको रिपोर्टमा आधारित