बैंकक-भैरहवा उडान तयारी गरिरहेकै बेला प्रतिबन्धमा पर्‍यो थाई एयर

बैंकक-भैरहवा उडान तयारी गरिरहेकै बेला प्रतिबन्धमा पर्‍यो थाई एयर


काठमाण्डु – बैंककबाट भैरहवा उडान तयारी गरिरहेको थाइल्याण्डको थाई एयर एसियालाई नेपालले उडानमा प्रतिबन्ध लगाएको छ । नेपाली आकाशमा जबरजस्ती प्रवेश गरेको थाई एयर एसियाको एयरबस ए३२० जहाजलाई नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाइएको हो ।

थाइ एसिया एयरवेजले भैरहवा उडानको अनुमति मागेर नेपालले दिएपछि पाएको अनुमति अनुसार भैरहवा उडाउन तयार नभएपछि नयाँ सिजनका लागि प्राधिकरणले अनुमति दिएको थिएन । तर, अनुमति नै नभएको उडान गरेपछि एयरवेजलाई कारबाही गरिएको हो ।

थाई एयर एसियाले साउन दोस्रो साता भैरहवाका लागि साताको चार उडान गर्ने अनुमति पाएको थियो । थाई एयर एसियालाई नेपालमा कुल सात उडान अनुमति दिइएको थियो । जसमध्ये तीन उडान काठमाडौं र चार उडान भैरहवाबाट गर्नु पर्ने थियो ।

विमान कम्पनीले असोज ४ देखि बैंकक-काठमाडौं दैनिक उडानका लागि अनुमति मागेको थियो । नेपालमा नियमित उडान गर्न थाइ एयर एसियाले लामो समयदेखि प्रयास गरिरहेको थियो । यसको मूल कम्पनी एयर एसियाले मलेसियाबाट उडान गर्दा काठमाडौं विमानस्थलको बक्यौता नतिरी बाहिरिएको थियो ।

करिब २४ करोड बक्यौता रहेकाले थाइ एयर एसियामार्फत् नेपाल फर्किन चाहे पनि पुरानो बक्यौता नतिरी उड्डयन प्राधिकरणले उडान अनुमति दिएको थिएन । एयर एसियाले किस्ता सुविधा माग गर्दै बक्यौता तिर्ने सम्झौता गरेको थियो । बिना अनुमति बैंककबाट शनिबार आएकोे जहाजमा बैंककबाट १ सय ७६ यात्रु थिए । काठमाडौंबाट १ सय ६० जना यात्रु लिएर फर्केको थियो ।

उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा उडान प्रतिबन्ध लगाइएको हो । साथै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको छ ।

‘कात्तिक ११ देखि चैत २४ सम्म विमान कम्पनीलाई नेपाल उडानमा प्रतिबन्ध लगाइएको छ’ नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।

हिउँदे उडान तालिका अनुसार उडान अनुमति नलिई नेपाल प्रवेश गरेको वायु सेवालाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा सम्पूर्ण उडान रद्द गरिएको उनले बताए । तत्कालका लागि उसको जिएसएलाई दिइएको अनुमतिसमेत खारेज गरिएको छ ।

उक्त वायुसेवाको जहाजलाई अनुमति नलिई काठमाडौँ ल्याउने काम सम्बन्धित जिएसए कम्पनीको भएकाले प्राधिकरणले जिएसए पनि खारेज गरेको हो ।

थाई एयर एसियाको नेपालका लागि जिएसए कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल हो । अनुमति नहुँदासमेत जहाजलाई नेपाल ल्याएको र नियामक निकायमाथिको अटेरीका कारण यसको जिएसए कारबाहीमा परेको हो ।

प्राधिकरणका अनुसार आइतबारबाट एयर एसियाले भैरहवा विमानस्थलमा उडान गर्ने गरी काठमाडौँ विमानस्थलमा उडान गरिरहेको थियो ।

यो वायु सेवाले भैरहवाबाट उडान सुरु नगरेसम्म हिउँदे उडान तालिका अनुसार काठमाडौँमा मात्रै उडान गर्न नपाउने सर्त प्राधिकरणले राखेको थियो । उक्त सर्तको उल्लंघन गर्दै गर्मीयामको उडान तालिका अनुसार जहाज काठमाडौँ आएपछि कारबाही अघि बढाइएको हो ।

यो विमान कम्पनीले काठमाडौं–बैंकक आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी सातामा चार उडान गर्दै आइरहेको थियो । अनुमति नै नभई विदेशी एयरलाइन्सको विमान अर्को देशको आकाशमा प्रवेश गर्ने कार्यलाई ज्यादै संवेदनशील मानिन्छ ।

करिब एक घण्टा आकाशमै होल्ड गरिएको जहाजलाई अन्ततः विशेष चार्टर उडानको अनुमति दिएर अवतरण अनुमति दिइएको थियो ।
जहाजलाई धेरै समय होल्डिङ गर्दा यात्रु र हवाई सुरक्षामा पर्ने जोखिम र मानवीयताको विषयलाई हेरेर अवतरणको अनुमति दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक जगन्नाथ निरौलाले बताए ।

जहाजका कप्तानले होल्डका लागि ३० मिनेटलाई मात्रै पुग्ने जहाजमा इन्धन रहेको जनाउँदै अनुरोध गरेपछि अवतरण अनुमति दिइएको थियो । जहाजका कप्तान माथावाज अफिरातनाथापोंगले माफी मागेपछि जहाजलाई ४ घण्टापछि शनिबार साँझ बैंकक पठाइएको थियो ।

जहाजको उडान अनुमति शनिबार नै सकिएको थियो । आइतबारदेखि सुरु भएको ‘विन्टर सिजन’मा उडानका लागि यो जहाजले उडान अनुमति लिएको थिएन तर एयर एसियाको नेपाल प्रतिनिधिले मिलाउँछु भनेका कारण जहाज नेपाल आएको देखिएकाले नियामक निकायले कारबाही अघि बढाएको हो ।