भाइटीकाको उत्तम साइत आईतबार ११:३७ बजे

भाइटीकाको उत्तम साइत आईतबार ११:३७ बजे


काठमाण्डु – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

कात्तिक १८ गते आईतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको समितिको सोमबारको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ ।

कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ ।

कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औंशी परेको छ । त्यस दिन तिहारको कुनै पर्व नपरेको समितिले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवद्र्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।