आईजीपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

आईजीपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरीलाई


काठमाण्डु – आईजीपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधि गण्डकी प्रदेश प्रहरीले हात पारेको छ ।

सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३–१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उपाधि हात पारेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कात्तिक ७ गतेदेखि सुरु प्रतियोगिताका विजेता खेलाडी तथा अफिसियलहरूलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले रनिङ कप, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

उनले सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, सहभागी टिमलाई मायाको चिनो, निर्णायकहरू एवं प्रतियोगितामा सहयोग पुर्‍याएकाहरूलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरे ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले खेलकुदका विभिन्न विधामा प्राप्त ख्याती तथा प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाएर हासिल गरेको सफलता प्रशंसनीय रहेको बताए ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमशः नगद १ लाख १ हजार र ५१ हजार एवं ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ । सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५५५ रुपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार ५५५ प्रदान गरिएको छ । प्रतियोगितामा १० टीमको सहभागिता थियो ।