काठमाण्डु – आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ।
यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुनेछ। यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको छ।
नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन्। जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छन्। दुवैबीच पछिल्लो खेल २०२३ को फेब्रुअरीमा भएको थियो।
क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो। नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन्।
यस खेलपछि नेपालले नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।
प्रतिक्रिया