काठमाण्डु – सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएका पोखरास्थित सूर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको कृटनीतिक पहलबिना नेपाल ल्याउन असम्भव भएको ब्रिफिङ नेपाल प्रहरीले गृह मन्त्रालयमार्फत प्रधानमन्त्रीसम्म पुर्याएको छ ।
महानिरीक्षक बसन्तबहादुर कुँवरसहितका प्रहरीका उच्च अधिकृतहरूले मलेसियामा रहेका भनिएका राइलाई नेपाल ल्याउन प्रधानमन्त्रीभन्दा तल्लो तहका प्रयास यसअघि नै गरिसकिएको जानकारी दिएका छन् ।
कास्की र रूपन्देही प्रहरीले पत्राचार गरेपछि प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जीबीविरुद्ध गत माघ १३ मा डिफ्यूजन र फागुन २१ मा रेड नोटिस जारी गरेपछि उनलाई नेपाल ल्याउन प्रहरीले भरमग्दुर प्रयास गरेको थियो ।
जीबीलाई नेपाल ल्याउन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् मलेसियामा कूटनीतिक नोट पठाएएको थियो । गत फागुनमा पठाएको कूटनीतिक नोटको जवाफ अहिलेसम्म आएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
त्यतिमात्र होइन, प्रहरी प्रधान कार्यालयले एसपीको कमाण्डमा दुई जनालाई मलेसिया पठाएको थियो । जीबी बसेको फ्ल्याट पत्ता लगाए पनि उनलाई नेपाल ल्याउने सम्भावना नदेखिएपछि प्रहरी टोली रित्तै फर्किन बाध्य भएको थियो ।
क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्ट खरिद गरेर बसेका जीबीलाई नेपाल र मलेसियाबीच ‘सुपुर्दगी सन्धि’ नभएका कारण नेपाल ल्याउन सम्भव नभएको प्रहरी र गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् ।
‘मेक मलेसिया माई सेकेन्ड होम’ अवधारणाअनुसार जीबीले त्यहाँ ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा अपार्टमेन्ट खरिद गरेर बसेका छन् । यो अवधारणामा तोकिएको रकम बस्नेले मलेसियन सरकारलाई तिर्न पर्छ । त्यसपछि उसको मुलुकमा मलेसियन सरकारले फिर्ता गर्दैन । त्यसकै कारण कुटनीतिक नोट र नेपाल ल्याउन मलेसिया पु्गेको प्रहरी टोली रित्तो हात फर्किएको हो ।
अब प्रधानमन्त्रीस्तरको कुटनीतिक पहलबिना जीबीलाई नेपाल ल्याउन असम्भव रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । स्रोतले भन्यो, ‘अब प्रधानमन्त्री तहबाटै कूटनीतिक पहल भए मलेसियन सरकारले नेपाल पठाउन सक्छ कि भन्ने सम्भावना छ । त्यसबाहेक हामीले प्रहरी प्रधान कार्यालयदेखि गृह र परराष्ट्र मन्त्रालयले हरसम्भव प्रयास गरिसक्यौँ । प्रहरी मलेसिया पुगिसक्यो । कूटनीतिक नोट पठाए पनि जवाफसमेत फिर्ता आएन ।’
जीबी अध्यक्ष रहेको सूर्यदर्शन सहकारीबाट रकम अपचलन गरेर गोरखा मिडियामा लगानी गरेको आरोपमा कास्की प्रहरीले मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पूजी जारी भएका राई फरार छन् । उनीहरूमाथि कारबाही गर्न सूर्यदर्शन सहकारीका पीडितले दिएको जाहेरी र संसदीय विशेष छानबिन समितिको सिफारिशअनुसार रवि र छवि पक्राउ परेका हुन् ।
संसदीय छानबिन समितिले पाँच वटा सहकारीबाट गोरखा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ लगेर अपचलन गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रहरीको ब्रिफिङ सुनेका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले १०० दिनमा गरेका काम सार्वजनिक गर्ने क्रममा सहकारी ठगमाथि कारबाही प्रक्रिया शुरू भइसकेको र केहीलाई कानुनी दायरमा ल्याउने प्रयास भइरहेको बताएका थिए । तर, अहिलेसम्म उनले जीबीलाई नेपाल भित्र्याउन कुटनीतिक पहल भने नगरेको स्रोतहरू बताउँछन् ।
प्रहरीले औपचारिक रूपमा भने जीबीविरुद्ध डिफ्यूजन र रेड दुवै नोटिस जारी भएकाले इन्टरपोलको माध्यमबाट नेपाल ल्याउने प्रयास भइरहेको बताउँछ । कहिलेसम्म नेपाल ल्याइन्छ भन्ने प्रश्नको जवाफ प्रहरी अधिकारीहरूले दिन सकेका छैनन् ।
प्रतिक्रिया