काठमाण्डु-साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र बङ्गलादेशबिचको खेल बुधवार हुँदैछ ।
खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू हुनेछ । नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बाङ्लादेशसँग बुधवार भिड्दै छ ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् ।
नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको थियो । बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।
यसअघि ५ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ भने एकपटक उपाधि जितेको बङ्गलादेश फेरि उपाधि जित्ने प्रयासमा छ ।
नेपाललाई अघिल्लो संस्करणको हारको बदला लिएर उपाधि जित्ने मौका छ । सन् २०१० को पहिलो संस्करण र सन् २०१४ को तेस्रो संस्करणमा नेपालले बङ्गलादेशलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।
गत संस्करण नेपालले भारत र बाङ्लादेशले भुटानलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । त्यो फाइनल पनि दशरथ रंगशालामा नै भएको थियो ।
नेपाललाई सोही मैदानमा हारको बदला लिने अवसर मिलेको छ । लगातार दोस्रो संस्करण भारतबिना फाइनलमा हुँदै छ।
यसअघि सेमिफाइनलमा नेपालले भारतमाथि जित रच्दा विवादास्पद र तनावपूर्ण रहेको थियो । नेपालकी कप्तान तथा गोलकिपर एन्जिलाले पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताइन् ।
फाइनलअगाडि पत्रकार सम्मेलनमा एन्जिलाले सधैं फाइनलमा हार्दै आए पनि यसपल्ट अवसर नगुमाउने विश्वास व्यक्त गरेकी छन् ।
प्रतिक्रिया