न्युजिल्याण्डका कुगेलेइन सुदूरपश्चिममा र हङकङका बाबार कर्णालीमा अनुबन्ध

न्युजिल्याण्डका कुगेलेइन सुदूरपश्चिममा र हङकङका बाबार कर्णालीमा अनुबन्ध


काठमाण्डु-न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइनले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

न्युजिल्याण्डका लागि टेस्ट, ओडीआई र टी–२० आई तीनै फम्र्याटमा खेलेका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए । उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ ।

स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव छ । उनले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आएका छन् । टी–२० क्रिकेटमा उनले १६८ विकेट लिनुका साथै ब्याटिङतर्फ एक हजार २२ रन बनाएका छन् ।

यस्तै, हङकङका बाबर हायतले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध भएका छन् । पाकिस्तानमा जन्मेर हङकङका लाग्दै खेल्दै आएका बाबरले यसअघि पनि नेपालमा आएर क्रिकेट खेलिसकेका छन् । उनीसँग नेपालमा धेरै क्रिकेट खेलेको अनुभव छ ।

बाबरले हङकङका लागि २२ ओडिआई र ७९ टी–२०आई म्याच खेलेका छन् । टी–२० आईमा उनले १ हजार ९१० रन बनाएका छन् भने १२२ रनको उच्च स्कोर हो । उनको नाममा दुई टी–२०आई शतक पनि छ भने १० अर्धशतक पनि प्रहार गरेका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए ।

बाबरले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा नेपाल विरुद्धकै खेलमा टी–२० आईमा डेब्यु गरेका थिए । पावर हिटिङका लागि परिचित बाबरले टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र उनको आगमनले टिम अझै बलियो हुने कर्णालीले जनाएको छ ।

बाबार कर्णालीले एनपीएलका लागि अनुबन्ध गरेको दोस्रो विदेशी खेलाडी हुन् । यसअघि कर्णालीले पाकिस्तानका हुसेन तलातलाई अनुबन्ध गरिसकेको छ ।

एनपीएल आगामी मंसिर १५ देखि सुरु हुँदैछ ।