लक्ष्मीपूजा र भाइटीका कुन दिन ? यसो भन्छ–पञ्चाङ्ग निर्णायक समिति

लक्ष्मीपूजा र भाइटीका कुन दिन ? यसो भन्छ–पञ्चाङ्ग निर्णायक समिति

फाइल तस्विर

काठमाण्डु– यो वर्ष लक्ष्मीपूजा र दीपावलीसहित तिहारका विभिन्न दिन कहिले पर्छन् भन्ने विषयमा धर्मशास्त्री र ज्योतिषीहरूबीच भिन्नाभिन्नै मत देखिएको छ।

जनमानसमा अन्योल उत्पन्न भएका बेला पञ्चाङ्ग निर्णायक विकास समितिले तिहारदेखि छठसम्म सम्बन्धित पर्वका दिन र मुहूर्त सार्वजनिक गर्‍यो। उक्त समिति संस्कृति मन्त्रालयअन्तर्गत पर्छ र चाडपर्वसँग सम्बन्धित विषयमा त्यसलाई आधिकारिक मानिन्छ।

समितिले यसपालि कुकुरतिहार, नरकचतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा बिहीवार एकैदिन पर्ने जनाएको छ। लक्ष्मीपूजा औँसीका दिनमा नभई चतुर्दशीकै दिनमा परेको भन्दै कतिपयले त्यसबारे चासो राखेको पाइएको छ।

रातको समयमा टीका लगाउने परम्परा भएका समुदायका लागि उपयुक्त नहुने गरी साँझमै द्वितीया तिथि सकिने दिनमा भाइटीका तोकिएकोमा पनि कतिपयले आश्चर्य व्यक्त गरेका छन्।

समितिका पदाधिकारीहरूले चलनचल्तीको पात्रो, धार्मिक र परम्परागत मान्यता र व्यावहारिक पक्षलाई समेत ध्यानमा राखेर मुहूर्तहरू सार्वजनिक गरिएको बताएका छन्।

लक्ष्मीपूजा कार्तिक कृष्ण औँसीका दिन गर्ने चलन छ। तर यसपालि कुकुरतिहारका रूपमा मनाइने चतुर्दशीकै दिन लक्ष्मीपूजा पनि तोकिएको छ।

समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले कुकुरतिहारकै दिन बेलुका औँसी पर्ने तर भोलिपल्ट बेलुकासम्म औँसी नभएकाले रातमा गरिने लक्ष्मीपूजाका लागि अघिल्लै दिन उपयुक्त रहेको बताए। उनका अनुसार तिथिगणना गर्दा धार्मिक मान्यताका आधारमा शास्त्रसम्मत निर्णय गरिएको हो।

हाल चल्तीका पञ्चाङ्गअनुसार यसपालि बिहीवार चतुर्दशीका दिन दिउँसो ३ः१४ सम्म मात्र चतुर्दशी तिथि पर्छ भने त्यसपछि औँसी सुरु हुन्छ। त्यस दिन सूर्यास्त अपराह्ण साँझ ५ः१५ मा हुन्छ। भोलिपल्ट शुक्रवार साँझ ५:१५ सम्ममा औँसी तिथि छ भने त्यसदिन सूर्यास्त ५ः१८ मा मात्र हुन्छ।

समितिले तोकेको भाइटीकाको शुभसाइतबारे पनि प्रश्न उठेको छ। त्यसको कारण पनि औँसी र लक्ष्मीपूजाको जस्तै रहेको देखिन्छ।

‘टीका लगाउने काम मध्याह्नकालव्यापी हुनुपर्छ भन्ने शास्त्रीय मान्यता छ। भाइटीका भनेको मनुष्यको पूजा भएकाले मध्याह्नकालमा गर्नुपर्ने हुँदा हामीले त्यसैअनुसार साइत निकालेकाे अधिकारी बताउछन् ।

आगामी शनिवार द्वितीया तिथि सुरु हुने भए पनि दिनको समयमा भोलिपल्ट मात्र उक्त तिथि लामो समय रहने अवस्था रहेको अधिकारी बताउँछन्।

पञ्चाङ्ग निर्णाय समितिले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको तिहार तथा छठ पर्वका मुहूर्तहरू निम्नानुसार छन्–

कार्तिक १४ गते बुधवार–कागतिहार, यम दीपदान, धन्वन्तरि जयन्ती

कार्तिक १५ गते बिहीवार–कुकुरतिहार, नरकचर्तुदशी, दीपमालिका, लक्ष्मीपूजा

कार्तिक १६ गते शुक्रवार– औँसी

कार्तिक १७ गते शनिवार–गाईगोरुपूजा, गोवर्धनपूजा, बलिपूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ

कार्तिक १८ गते आइतवार– यमद्वितीया, भाइटीका, किजापूजा,

भाइटीकाको शुभसाइत बिहान ११ः३७ बजे पश्चिम मोहडा रहेको छ । यस्तै कार्तिक २२ गते बिहीवार छठ पर्व परेको छ । बीबीसी