काठमाण्डु-नेपालगन्जको भेरी अस्पताललाई ५०० शय्यामा स्तरोन्नती गरेर विशेषज्ञ र विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्न लागिएको छ ।
संघीय सरकारको नीति तथा कार्यक्रम अन्तर्गत अस्पताललाई ५०० शय्यामा स्तरोन्नति गरेर विशिष्टिकृत सेवाको अस्पताल घोषणा गर्न लागिएको हो । अस्पताल विकास समितिले ५० शय्या र नेपाल सरकारको १०० शय्या गरी १५० शय्यामा अस्पलातल सञ्चालन भइरहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले भेरीसहित सबै प्रदेशका संघीय अस्पताललाई ५०० शय्यामा स्तरोन्नति गरेर विशिष्टिकृत अस्पतालको रूपमा विकास गर्न लागिएको जानकारी दिए ।
‘हाम्रो सर्भेक्षणले एउटा संघीय अस्पताललाई ५०० शय्याको बनाउँदा कम्तीमा पनि एक हजार सात सय जनशक्ति आवश्यक पर्ने देखाएको छ । अर्थ मन्त्रालयले दरबन्दी स्वीकृत गरेको खण्डमा आगामी आर्थिक वर्षदेखि अस्पतालको स्तरोन्नती र जनशक्ति उपलब्ध गराइनेछ’, उनले भने, ‘देशैभरी कम्तीमा ६ देखि १० हजार जनशक्ति थप गर्ने हाम्रो तयारी छ ।’
मन्त्रालयले स्थानीय तहका १५ शय्याका आधारभूत अस्पताल, जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा सामान्य बिरामी पठाएर संघीय अस्पतालमा विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवा दिने व्यवस्था गर्न लागेको छ ।
१९४७ साउन १२ मा पृथ्वी–वीर डिस्पेन्सरीको नाममा ७ शय्याबाट सेवा सुरु भएको भेरी अस्पताल २०१६–२०२१ सम्म रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह, २०२२ सालमा भेरी अञ्चल अस्पताल, २०७५ पुसदेखि दुई महिना मात्र प्रादेशिक अस्पताल हुँदै २०७५ फागुनदेखि संघीय अस्पताल भएको हो । वीर अस्पतालसँगै जन्मिए पनि सरकारी बेवास्ताका कारण जनशक्ति र भौतिक पूर्वाधारको अभावमा भेरीले लक्ष्य अनुसार सेवा दिन सकेको छैन ।
प्रतिक्रिया