सगरमाथा क्षेत्रमा लडेर घाइते भएका जापानिज नागरिकको उद्धार

सगरमाथा क्षेत्रमा लडेर घाइते भएका जापानिज नागरिकको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा १ विदेशी पर्यटकको उद्धार गरिएको छ ।

सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेका अनुसार खुम्बु भ्रमणमा आएका शिशिडो बिहीबार दिउँसो ३ बजेको समयमा हिँड्ने क्रममा लडेर घाइते भएका थिए । खुम्बु क्षेत्रको भ्रमणमा आएका उनी रातको समयमा छुकुमबाट खुम्ब्युलापास गएर फर्किंदा बाटो बिर्सिएर अन्यत्र पुगेका थिए ।

पदमार्गबाट अन्दाजी १० मिटर तल लडेर घाइते भएका शिशिडोको प्रहरी र स्थानीयले उद्धार गरेको डीएसपी घिमिरेले बताए । उनले भने, ‘उहाँको टाउको, अनुहार, खुट्टामा सामान्य चोट लागेको छ, हामीले उद्धार गरी दिङ्बुचे क्लिनिकमा उपचार गरायौं, अहिले स्वास्थ्य लाभ गरिरहनुभएको छ । घाइते पर्यटकको टाउको, अनुहार र खुट्टामा चोट लागेको छ ।’

दिङ्बोचे स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् उनी काठमाण्डु फर्किने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सगरमाथा क्षेत्रमा यस बेलामध्ये पर्यटक सिजन भएकाले फर्किने पर्यटकहरूको चाप धेरै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । चिसो बढ्दै गएकाले भित्रिनेभन्दा बाहिरिने पर्यटकको चाप बढी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताए ।