काठमाण्डु – हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो ।
अस्ट्रेलियालाई पराजित गरेको नेपाल समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको हो। नेपालका लागि कप्तान सन्दीप जोराले ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै लोकेश बमले ३३ रन बनाए । विवेक यादव र रसिद खानले समान १२-१२ रन बनाउँदा नारायण जोशीले १ रन बनाए । बलिङतर्फ नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए । यस्तै, लोकेश बम र विवेक यादवले १-१ विकेट लिए ।
यसअघि नेपालले शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपाल पुल ‘बी’बाट क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ। क्वार्टरफाइनलमा नेपाल आजै श्रीलंकासँग भिड्दै छ।
प्रतिक्रिया