काठमाण्डु-सर्लाहीको बरहथवा नगरपालिका–७ मा शुक्रबार राति भएको भीषण आगलागीबाट ठुलो मात्रामा धनमालको क्षति भएको छ ।
स्थानीय किसुन दासको घरमा सञ्चालित पसलमा भएको आगलागीबाट क्षति पुगेको हो । आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
बरहथवाका डिएसपी गौतम थापाले राति नै प्रारम्भिक विवरण सङ्कलन गर्दा आगलागीबाट करिब पौने तीन करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । डिएसपी थापाका अनुसार नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री गोदाम गरेर राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको छ ।
आगलागी नियन्त्रण गर्न दुई घण्टाभन्दा बढी समय लागेको छ ।
स्थानीय वासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बरहथवा प्रहरीले जनाएको छ । आगलागीका कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया