काठमाण्डु – उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूले विनाशकारी अवस्थाबारे कडा चेतावनी जारी गरेका छन् ।
मानवीय मामिलाका लागि कार्यबाहक उपमहासचिव र आपतकालीन राहत संयोजक जोयस सुया, युनिसेफ, विश्व खाद्य कार्यक्रम र अन्य सहायता संस्थाहरू लगायत संयुक्त राष्ट्रका शीर्ष अधिकारीहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूले उत्तरी गाजामा प्यालेस्टिनीहरूले रोग, भोकमरी र हिंसाका कारण मृत्युको जोखिम सामना गरिरहेका बताएका छन् ।
अधिकारीहरूले पहुँचमा प्रतिबन्धका कारण आधारभूत आवश्यकताहरू समेत पूरा गर्न मानवीय सहायता अपर्याप्त रहेको कुरामा जोड दिए । उनीहरूले मानवीय जीवन रक्षाका लागि अत्यावश्यक आपूर्तिको अभाव रहेको जनाउँदै व्याप्त असुरक्षाका कारण प्रभावितहरूसम्म सहायता पुग्न नसकेको बताए ।
उनीहरूले सम्बन्धित पक्षलाई गाजामा आक्रमण रोकी महत्त्वपूर्ण सहायता पुर्याउने सहायता कामदारहरूलाई सुरक्षित पहुँचको अनुमति दिन आह्वान गरेका छन् ।
यस हप्ताको सुरुमा प्यालेस्टिनी नागरिक सुरक्षाले उत्तरी गाजाको जबालिया, बेत लाहिया र बेत हानुनमा लाखौं मानिसहरू खाना तथा चिकित्सा आपूर्तिको अभावमा रहेको रिपोर्ट गरेको थियो ।
प्रतिक्रिया