शिक्षालयमा अक्षयकोष स्थापनाका लागि देउसीभैलोबाट ३२ लाख संकलन

शिक्षालयमा अक्षयकोष स्थापनाका लागि देउसीभैलोबाट ३२ लाख संकलन


गलेश्वर – म्याग्दीको मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अक्षयकोष स्थापनाका लागि खेलिएको देउसीभैलोबाट ३ दिनको अवधिमा ३२ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ ।

विद्यालय स्थापना गर्न किसानी सञ्जीवनी अक्षयकोषका लागि एउटै वडावासीले स्वस्फूर्तरूपमा रकम सहयोग गरेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले जानकारी दिए । उनका अनुसार अक्षयकोष स्थापना गर्न बिम गाउँका ७ टोलका वासिन्दाले न्यूनतम २९ हजारदेखि अधिकतम १३ लाख १९ हजार रुपैयाँसम्म दान गरेका छन् ।

कात्तिक १४ गतेदेखि १६ गतेसम्म गाउँमा सञ्चालन गरिएको देउसीभैलोमा मालिका–७ बिमको तल्लोगाउँ टोलबाट १३ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । बिमबाङ टोलबाट ११ लाख, डाँडागाउँ टोलबाट ५ लाख, ढुनोट टोलबाट १ लाख ७७ हजार, नौमाने टोलबाट ४३ हजार, अर्कला टोलबाट ३० हजार र इल्पु टोलबाट २ हजार रुपैयाँ सहयोग जुटेको हो । शनिबार देउसीभैलो कार्यक्रम समापन गरिएको छ ।

व्यावसायिक कृषिउन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने शिक्षालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बिममा २०६८ सालमा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि ३ वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र ३ वर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य गर्बुजाले बताए ।