प्रदूषणका कारण लाहोरमा ‘ग्रीन लकडाउन’, काठमाडौं र दिल्लीको प्रदूषण पनि उच्च

प्रदूषणका कारण लाहोरमा ‘ग्रीन लकडाउन’, काठमाडौं र दिल्लीको प्रदूषण पनि उच्च


काठमाण्डु-अत्यधिक वायु प्रदूषणका कारण पाकिस्तानको लाहोरमा एक हप्ताका लागि लकडाउन लगाइएको छ ।

पाकिस्तानका सरकारी अधिकारीहरूका अनुसार बढ्दो वायु प्रदूषणका कारण लाहोरमा ‘ग्रीन लकडाउन’ गरिएको छ ।

पाकिस्तानको दोस्रो ठूलो शहर लाहोर आइतवार दोस्रो पटक सबैभन्दा प्रदूषित हावा भएका शहरहरूको सूचीमा शीर्ष स्थानमा परेको थियो । सोमवार दोस्रोमा छ । पहिलोमा भारतको राजधानी नयाँ दिल्ली छ । उच्च वायु प्रदुषणका कारण त्यहाँ सबै प्राथमिक विद्यालयहरू बन्द गरिएका छन् । सञ्चालनमा रहेका विद्यालयमा अनिवार्य मास्क लगाउन निर्देशन जारी गरिएको छ ।

लाहोरमा गत महिना विद्यार्थीलाई जनवरीसम्म बाहिरी व्यायाम गर्न प्रतिबन्ध लगाइएको थियो । सरकारी कर्मचारीलाई ‘वर्क फ्रम होम’का लागि भनिएको छ । बीबीसीका अनुसार सोमबारदेखि ५० प्रतिशत सरकारी कर्मचारीलाई पनि घरबाटै काम गर्न निर्देशन दिइएको छ ।

सरकारले मानिसहरूलाई घरभित्रै बस्न र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । कतिपय क्षेत्रमा निर्माण कार्य रोकिएको छ । पाकिस्तानको हावामा स्वास्थ्यका लागि हानिकारक सूक्ष्म कणको स्तर खतरनाक तहमा पुगेपछि सरकारले यस्तो कदम चालेको हो । अहिले शहरमा देखिएको हावा बच्चा विशेषगरी १० वर्ष सम्मका बालबालिकाका लागि अत्यन्तै जोखिम पूर्ण रहेको जनाइएको छ ।

ठूलो संख्यामा प्रदूषित उद्योग र पराल जलाउनु नै हावाको गुणस्तर खराब हुनुको मुख्य कारण रहेको मानिएको छ । एक्यूआई अनुसार तीन सयको अंकलाई खतरनाक मानिए पनि लाहोरको एक्यूआइ ४ सय माथि पुगेको छ ।

दिल्लीको अवस्था अत्यधिक खराब

भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर फेरि एक पटक गम्भीर श्रेणीमा पुगेको अधिकारीहरूले बताएका छन् । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार सोमवार बिहान ६ बजे दिल्लीका अधिकांश क्षेत्रमा वायु प्रदूषणको स्तर गम्भीर वा अत्यधिक खराब श्रेणीमा रेकर्ड गरिएको हो ।

सोमबार बिहान दिल्लीको आनन्द बिहार क्षेत्रको हावा सबैभन्दा प्रदूषित थियो । दिल्लीमा वायुको गुणस्तर सूचकांक ४५० भन्दा माथि छ । जुन अति खराबको श्रेणीमा पर्छ ।

प्रदूषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार प्रदूषित शहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ । राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम शुरू भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ ।

प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार दिल्लीको वायुमा प्रदूषणको प्रमुख कारण पीएम २.० कणहरू हुन् । पीएम २.० धेरै सानो र धुलोको सूक्ष्म कण हो । सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरमा पाकिस्तानको लाहोर दोस्रोमा छ भने भारतकै कोलकत्ता तेस्रोमा छ ।

इजिप्टको कायरो चौथो, बंगलादेशको ढाका पाँचौ, चीनको वुहान प्रदुषित सहरको छैटौँ स्थानमा रहेका छन् । यसैगरी भियतनामको होनाइ सातौ, यूएईको दुबई आठौँ, भारतको मुम्बई नवौँ, मंगोलियाको उलनबाटर दशौँ स्थानमा छ ।

नेपालको राजधानी काठमाडौं भने १८ औं स्थानमा छ । काठमाडौंको वायुको गुणस्तर सूचकांक १२२ छ । तिहारमा पड्काइएको पटाकाका साथै घुलो धुवाका कारण काठमाडौँमा प्रदुषण बढेको छ ।

काठमाडौँको प्रदुषण सूचक ११३ एक्युआई रहेको छ । काठमाडौँमा प्रदुषण अत्यधिक हुने भएपनि सरोकारवाला निकायले न्युनीकरणमा खासै पहल गरेको पाइँदैन ।