काठमाण्डु – नेपाली कांग्रेसका युवा नेता कात्तिक २३ गतेदेखि संकल्प यात्रामा निस्किने भएका छन् ।
सोमबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै नेता भूपेन्द्रजंग शाहीले मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा आयोजना हुने जानकारी दिए ।
यात्राको सुरुआत कोशी प्रदेशको झापा जिल्लाको मेचीनगरबाट हुने र यात्राको समापन सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको महेन्द्रनगरमा हुने उनले बताए । युवालाई रोजगारीको सुनिश्चितता, योग्यता र सीप अनुसारको रोजगारी सुनिश्चित नभएका कारण अवसरका नाममा बर्सेनि लाखौं नेपाली युवा विदेशिन बाध्य भएका, स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा संकल्प यात्राले आवश्यक पहल र दबाबको अगुवाई गर्ने उनल बताए ।
देशमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि जनताको जीवनशैलीमा कुनै परिवर्तन नहुनुको मुख्य कारण बेथिति, बेरोजगारी र भ्रष्टाचार रहेको भन्दै यात्रामार्फत तीनै तहका सरकारका व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको स्थापनाका लागि आवश्यक पहल र खबरदारी गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया