विराटनगर – नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यू–१९ राष्ट्रिय १ दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश आ–आफ्नो खेलमा विजयी भएका छन् ।
मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १२३ रनले तथा बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गरेको छ ।
मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनायो । सुदूरका लागि सुवराज खत्रीले ४४ रन, अभिषेक थापाले ३७ र नरेन भट्टले २४ रन बनाए । बलिङतर्फ कोशीका सौजन घिमिरेले ४ तथा विपिन महतोले २ विकेट लिए ।
१८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनायो । कोशीका लागि सौजन घिमिरेले २६ तथा आशिष मगरले १३ रन बनाए । बलिङतर्फ सूदुरपश्चिमका लागि सचिन भट्टले ४ तथा नरेन भट्टले ४ विकेट लिए ।
यसैगरी अर्को खेलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सबै विकेट गुमाएर १३३ रनको योगफल बनायो । कर्णालीका लागि हीरालाल चनराले ४५, मनिस थापाले २२ रन र यूनिस ठकुरीले २१ रनको योगदान दिए । बलिङतर्फ मधेशका राजेश यादवले ४ तथा अफ्रुदिन रैनले ३ विकेट लिए ।
१३४ रनको लक्ष्य पाएको मधेशले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्र बनायो । मधेशका लागि मयन यादवले १५ र जितेश मण्डलले १३ रन बनाए ।
बलिङतर्फ कर्णालीका विपीन शर्माले ४ तथा यूनिस ठकुरीले ३ विकेट लिए । कर्णाली २ अंकका साथ अन्तिम स्थानमा तथा मधेश प्रदेश ४ अंकका साथ पाँचौ स्थानमा छ ।
मंगलबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनी र मधेश प्रदेशबीच तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा बागमती र कर्णाली प्रदेशबीच खेल हुनेछ ।
प्रतिक्रिया