काठमाण्डु – सप्ताहन्तमा वायु–गुणस्तर सूचकांक रेकर्ड उच्च बिन्दुमा पुगेपछि सोमबार खतरनाक रूपमा खराब वायु गुणस्तरका कारण पाकिस्तानी अधिकारीहरू सांस्कृतिक राजधानी लाहोरमा १ हप्ताका लागि प्राथमिक विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् ।
१ करोड ४० लाख जनसंख्या भएको लाहोर शहरमा बालबालिकालाई श्वासप्रश्वास सम्बन्धी र अन्य रोगहरूबाट जोगाउने बृहत्तर प्रयासको हिस्साका रूपमा लाहोरमा विद्यालय बन्द गरिएको हो । सरकारले लाहोरमा सबैले मास्क लगाउनु अनिवार्य भएको बताएको छ ।
शहरमा हरित लकडाउनको हिस्साका रूपमा ५० प्रतिशत कर्मचारीले पनि घरबाटै काम गर्नुपर्ने सरकारले बताएको छ । फिल्टर बिना बार्बेक्यू गर्न प्रतिबन्ध लगाइएको छ र मोटरचालित रिक्साहरूलाई सीमित गरिएको छ । विवाह हलहरू राति १० बजे बन्द गर्नुपर्नेछ । प्रदूषणसँग लड्न कृत्रिम वर्षाको प्रयोग गरिने सम्भावना रहेको छ ।
सप्ताहन्तमा लाहोरमा वायु–गुणस्तर सूचकांक १ हजार नाघेको छ । यो पाकिस्तानमा रेकर्ड उच्च हो ।
भारतसँग सीमा जोडिएको पूर्वी पञ्जाब प्रान्तको राजधानी लाहोरमा गत महिनादेखि वायु गुणस्तर बिग्रन थालेपछि विषाक्त खैरो धुवाँले दशौं हजार मानिस, मुख्यतया बालबालिका र वृद्धवृद्धाहरूलाई बिरामी बनाएको छ ।
सरकारले केही क्षेत्रमा निर्माण कार्यमा पनि प्रतिबन्ध गरेको छ र धुवाँ उत्सर्जन गर्ने सवारीसाधनका मालिकहरूलाई जरिवाना गरेको छ । सरकारी सूचनाअनुसार प्रदूषणका कारण विद्यालयहरू १ हप्ताका लागि बन्द रहनेछन् ।
पञ्जाब वातावरण संरक्षण विभागका अनुसार हावामा पीएम २.५ वा सूक्ष्म कणको मात्रा ४५० नजिक पुगेको छ र यसलाई खतरनाक मानिन्छ ।
लाहोर १ समय बगैंचाहरूको शहरका रूपमा चिनिन्थ्यो र यो १६औंदेखि १९औं शताब्दीसम्मको मुगल कालमा सर्वव्यापी थियो । यद्यपि द्रुत शहरीकरण र जनसंख्या वृद्धिले हरियालीका लागि थोरै ठाउँ मात्र छोडेको छ ।
प्रतिक्रिया