विराटनगर – नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेश विजय भएका छन् ।
प्रतियोगिताअन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले बागमती प्रदेशलाई २० रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा २० दशमलव ५ ओभरमै सबै विकेट गुमाई ७५ रनमा सीमित भएको थियो । कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए । बागमतीका दिनेश विष्टले ५ विकेट लिए । उनले ३ दशमलव ५ ओभरमा २ मेडन राख्दै ६ रन मात्र दिए । यस्तै दयानन्द मण्डलले ३ विकेट र दीपक सेरलाले २ विकेट लिए । ७६ रनको विजयी लक्ष्य पाएको बागमतीले १८ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ५५ रनमा सीमित हुन पुग्यो ।
बागमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिए । कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरी र अनुज चनराले ३/३ विकेट लिए ।
मंगलबारै वैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको रोमाञ्चक खेलमा मधेशले लुम्बिनीलाई १ विकेटले पराजित गरेको छ । खेलअघि प्रतियोगितामा लुम्बिनी एकमात्र अपराजित टोली रहेको थियो । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सबै विकेट गुमाई ७० रनको योगफल बनायो । लुम्बिनीका समिर अलीले सर्वाधिक १२ रनबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मधेशका प्लेयर अफ द म्याच अभिशेख तिवारीले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभरमा १६ रन दिए ।
७१ रनको लक्ष्य पाएको मधेशले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । मधेशका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्बिनीका रमेह कुर्मीले ४ विकेट लिँदा सन्तोष यादवले ३ विकेट लिए ।
लिगको सबै खेल सम्पन्न हुँदा सुदूरपश्चिम ६ खेलमध्ये ५ मा जीत र १ मा पराजित हुँदै १० अंकका साथ पहिलो स्थानमा उक्लिएको छ भने लुम्बिनी ६ मध्ये ५ खेलमा जीत र १ खेलमा पराजित हुँदै १० अंकका साथ नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ ।
गण्डकी ६ खेलमा विजयी र ३ खेलमा पराजित हुँदै ६ अंकका साथ तेस्रो, मधेश ६ मध्ये ३ खेलमा विजयी र ३ खेलमा पराजित हुँदै ६ अंकका साथ नेट रन रेटमा पछि पर्दै चौथो स्थानमा, बागमती ६ मध्ये २ मा जीत र ४ खेलमा पराजित हुँदै ४ अंकका साथ पाँचौं स्थानमा, कर्णाली ६ मा २ मा विजयी र ४ खेलमा पराजित हुँदै ४ अंकका साथ छैठौं स्थानमा र कोशी ६ खेलमा १ मा जीत र ५ खेलमा पराजित हुँदै २ अंकका साथ पुछारमा रहेको छ ।
प्रतिक्रिया