काठमाण्डु-ललितपुरको ऐतिहासिक कात्तिक नाच बुधवारदेखि सुरु हुँदैछ । ३८३ वर्षदेखि निरन्तर चल्दै आएको कात्तिक नाच बुधवारदेखि सुरु हुन लागेको हो । यसवर्ष नाच १० दिन सञ्चालन गरिने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।
आउँदो कात्तिक ३० गतेसम्म मंगलबजारको कात्तिक डबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ । हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाच देखाइनेछ । विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक फरक नाचहरू देखाउने गरिन्छ । नाचमा दैत्य जगाउने परम्परा छ ।
बुधवार भक्त सुरदासको नाच देखाएर शुरु हुने कात्तिक नाच अन्तिम दिन कात्तिक ३० गते वस्त्रहरण लिलाको नाच देखाएर समापन गरिनेछ । कात्तिक नाचको मुख्य आकर्षण नृसिहं अवतार कात्तिक २९ गते देखाइनेछ ।
विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंहले कात्तिक नाच शुरुआत गरेका थिए । सत्रौँ शताब्दीमा शुरु भएको विष्णु पुराणमा आधारित सो नाचमा विष्णुको अवतार, नृसिंह, राजा हिरण्यकश्यपु र विष्णुभक्त प्रल्हादका कथा छ । ऐतिहासिक रुपमा सांंस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता बोकेको सो नाचको महत्व अहिले पनि बढेको पाइन्छ ।
विसं १६५७ मा पहिलोपटक पाँच दिनसम्म आयोजना गरिएको सो नाच विसं १७२३ मा सात दिन थप गरी १२ दिनसम्म मनाइएको थियो भने विसं १७४० मा १५ दिन थप गरी २७ दिनसम्म मनाइएको थियो । विसं २००७ देखि २०३७ सम्म ३० वर्ष (आर्थिक अभाव र राजनीतिक परिवर्तनका कारण) दुई दिन मात्र नाच आयोजना गरिएको थियो । विसं २०३८ मा आठ दिनसम्म मात्र आयोजना गरिएको सो नाच विसं २०७१ देखि १२ दिनसम्म आयोजना हुँदै आएको छ
नेपाल सम्वत् ७६१ सालदेखि निरन्तर प्रदर्शन भइरहेको नाच यसपाली ३८४ वर्ष पुगेको छ ।
प्रतिक्रिया