यस्तो छ राष्ट्रपतिको अजरबैजान भ्रमण तालिका

यस्तो छ राष्ट्रपतिको अजरबैजान भ्रमण तालिका


काठमाण्डु–राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन कोप–२९ मा भाग लिन आइतवार त्यसतर्फ जाँदै छन् ।

अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् ।

राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये पर्छ ।

बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ ।

नेपालका तर्फबाट सम्मेलन प्रस्तुत गर्ने एजेण्डाबारे विभिन्न तहमा तयारी भइरहेको छ । सम्मेलन कात्तिक २६ सुरु भइ मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भइ राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।