प्रधानमन्त्री ओली मंसिर तेस्रो साता चीन जाने, आयो औपचारिक निम्तो

प्रधानमन्त्री ओली मंसिर तेस्रो साता चीन जाने, आयो औपचारिक निम्तो


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जाने तय भएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर तेस्रो साता चीनको औपचारिक भ्रमण गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो पनि प्राप्त भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले चिनियाँ प्रधानमन्त्री छ्याङको तर्फबाट प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो प्रदान गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बुधबार राजदूत छनले परराष्ट्र सचिव सेवा लम्सालमार्फत् प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए ।

चिनियाँ पक्षले यसअघि नै भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरेको थियो । औपचारिक निम्तोपत्र प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले सोही मितिमा हुने गरी भ्रमणको तयारी सुरु गरेको छ ।

प्रधानमन्त्रीका रूपमा ओलीको तेस्रो चीन भ्रमण हुनेछ । २०७२ मा पहिलोपटक र २०७४ मा दोस्रोपटक प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गरेका थिए ।

चीनबाट औपचारिक निम्तो प्राप्त गरेका ओलीलाई भारतले भने अझै निम्तो दिइसकेको छैन । पछिल्लो पटक संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेट भएको थियो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएसँगै तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने तयारीमा छिन् । प्रधानमन्त्रीसँगको आवश्यक छलफल र समन्वयमा परराष्ट्रमन्त्री चीन जानेछिन् ।