काठमाण्डु – नेकपा एमालेले काठमाण्डुमा हुने उपनिर्वाचनका लागि ४ वटै पदका उम्मेदवारको सर्वसम्मत टुंगो लगाएको छ ।
जिल्ला कमिटीको बुधबार बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले बताए ।
महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ ।
जिल्ला अध्यक्ष दीपक निरौलाले संवैधानिक कानून विषयमा विद्यावारिधि गरेका कीर्तिपुरका लोकप्रिय नेता मानन्धरलाई सर्वसम्मत रूपमा अघि सारेर नगर कमिटीले विजयी पहल थालेको बताए ।
कीर्तिपुरको १ नम्बर वडा अध्यक्षमा हर्ष महर्जन र ४ नम्बरमा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । काठमाण्डु महानगरपालिकाको १६ नम्बर वडाको वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने निर्णय जिल्ला कमिटीले गरेको छ ।
प्रतिक्रिया