काठमाण्डु – नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले भक्तपुरबाट सुनचाँदी पसल सञ्चालकलाई पक्राउ गरेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक भक्तपुर नगरपालिका–७ बस्ने ३० वर्षीय सोहिल शाक्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डु उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली १ हजार र ५०० दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू (खोटा मुद्रा) निर्माण गरी कारोबार समेत भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
प्रहरीले उनको पसलबाट सेतो प्लाष्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नेपाली १ हजार दरका ११३ थान र ५०० दरका २८ थान नक्कली नोटहरू फेला पारी बरामद गरेको छ ।
बरामद नोट सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया