नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् : उपप्रधानमन्त्री पौडेल

नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् : उपप्रधानमन्त्री पौडेल


ललितपुर – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

नेपाल विश्वविद्यालयको बुधबार ललितपुरमा भएको विश्वविद्यालय उद्घोषण सभा कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उनले विश्वविद्यालय नेपाली विद्यार्थीका लागि मात्रै नभएर संसारका विद्यार्थीहरूका लागि आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताए ।

‘यो विश्वविद्यालयले नयाँ मान्यताका साथ अगाडि बढ्दै त्यहीअनुसारका दक्ष जनशक्ति निर्माण गर्न सक्नुपर्नेछ, सुरुदेखि नै उत्कृष्ट हुन सकोस्, पछि गरौंला भन्ने छुट यसलाई छैन, सरकारको साथ लिने हो तर विश्वविद्यालयले आफ्नै पौरख र सामथ्र्यमा अगाडि बढ्ने हो,’ उपप्रधानमन्त्री पौडेलले भने ।

सरकार अभिछिन्न रूपमा विश्वविद्यालयको साथमा रहनेछ भन्दै उनले विश्वविद्यालय विशिष्ट किसिमको योगदान दिने विश्वविद्यालयका रूपमा परिचित हुने विश्वास व्यक्त गरे ।

‘यसले वैधानिक हैसियत प्राप्त गरेपछि पनि धेरै कुरा उठेका छन्, मानवीय मूल्यमा आधारित भए मानवीय आवश्यकतालाई परिपूर्ति गर्ने विश्वविद्यालयका रूपमा विकास होस् भन्ने अपेक्षा छ, उद्देश्यअनुसार काम गर्न सकोस्,’ उपप्रधानमन्त्री पौडेलले भने । विश्वविद्यालय स्थापनाका लागि चालेका कदम सहज नभएको बताउँदै उनले स्थापनाका लागि चालेका कदम, निरन्तरता र अथक प्रयासले सार्थकता पाओस् भन्ने कामना गरे ।

‘यात्रा सहज छैन, सबै चुनौतीहरूलाई पार गर्दै नयाँ उचाइ हासिल गर्न सकोस्, आगामी दिनमा सरकारको तर्फबाट निरन्तर सहयोग हुन्छ,’ उनले भने । उनले विश्वविद्यालयले सरकारको साथको मात्रै अपेक्षा गरेर परनिर्भर नहुन आग्रह गर्दै आफ्नै बलबुतामा विशिष्ट किसिमले स्थापित हुन अनुरोध गरे ।

नेपाल विश्वविद्यालय विकास बोर्डको अन्तर्राष्ट्रिय परामर्श बोर्डका अध्यक्ष तथा ब्रिटिस कोलम्बिया विश्वविद्यालय क्यानाडाका प्रोफेसर रोवर्ट उलर्डले नेपाल विश्वविद्यालयले दक्ष जनशक्ति पलायन हुने अवस्थालाई रोक्न सक्ने अवसर सिर्जना गर्न सक्नेछ भन्ने विश्वास व्यक्त गरे । नेपालको विकास र समृद्धिका लागि विश्वविद्यालय स्थापना भएकामा आफू निकै खुसी भएको बताए ।

संरचना र सञ्चालनका केही छुट्टै विशेषता भएको नेपाल विश्वविद्यालयले संरक्षक परिषद्बाट सञ्चालन हुने शासकीय स्वायत्तता कायम राख्दै, बहुविधागत लिवरल आर्टस् एण्ड साइन्स अवधारणामा आधारित शैक्षिक कार्यक्रमलाई अघि बढाउने नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा. अर्जुन कार्कीले जानकारी गराए ।

‘यसले अन्य क्याम्पस तथा कलेजलाई सम्बन्धन दिने छैन । नेपाल विश्वविद्यालयले आफ्नै संकाय, आंगिक निकाय र पठनपाठनको गुणस्तरमाथि विशेष ध्यान दिनेछ । अन्तर्राष्ट्रिय सहकार्यमार्फत पठनपाठन र अनुसन्धानलाई प्रोत्साहित गर्दै, यसले वैश्विकस्तरको उत्कृष्टता नेपालमै उपलब्ध गराउने लक्ष्य राखेको छ,’ उनले भने ।

गाउँपालिका महासंघको अध्यक्ष लक्ष्मी पाण्डेले ऐन पारित भई आधिकारिक रूपमा स्थापित हुन सफल भएकोमा विश्वविद्यालयलाई बधाई दिए । उनले विश्वविद्यालयले चेतनशील र सिर्जनशील जनशक्ति तयार गर्नसक्ने विश्वास व्यक्त गरे । उनले नेपाली विद्यार्थीको भविष्य उज्ज्वल बनाउन विश्वविद्यालय सफल हुने विश्वास व्यक्त गर्दै समयको मागअनुसारको आवश्यकता परिपूर्ति गर्नसक्ने अपेक्षा राखे । उनले विश्वविद्यालयले दूरदृष्टि भएका क्षमतावान् नागरिक निर्माण गर्दै राष्ट्र निर्माणका लागि योगदान पुर्‍याउनेछ भन्ने धारणा राखेका छन् ।