काठमाण्डु-आसन्न स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ९ स्थानमा उम्मेदवारको तय गरेको छ । कांग्रेसले दोलखाको गौरिशंकर गाउँपालिकासहित ९ ठाउँको उम्मेदवार तय गरेको हो । आगामी मंसिर १६ गते स्थानीय तहका विभिन्न ४४ पदमा उपनिर्वाचन हुँदैछ ।
गौरिशंकर गाउँपालिकाका तत्कालीन अध्यक्ष श्यामसुन्दर तामाङको २०८० सालमा निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । कांग्रेस जिल्ला कार्यसमितिले गौरिशंकरको उपाध्यक्षमा पासाडिकी शेर्पालाई टिकट दिने निर्णय गरेको छ । उपनिर्वाचनमा टिकट पाएकी शेर्पा तामाङकी श्रीमती हुन् ।
त्यस्तै कांग्रेसले झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्षमा रामगोपाल ओली, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा प्रकाशबहादुर चन्द र गुल्मीको मुसिकोट नगरपालिका १ मा आनन्द श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै, सुनसरीको गढी गाउँपालिका ६ बाट तेतर साह, कालिकोटको तिला गुफा नगरपालिका ४ बाट अविराज शाही, तेह्रथुम र लालीगुराँस नगरपालिका ८ बाट नगेन्द्र लिम्बू सर्वसम्मत उम्मेदवार भएका हुन् ।
यसैगरी, कैलाली जिल्ला समन्वय समिति प्रमुख पदका लागि हुने निर्वाचनका लागि केशवराज पन्तलाई उम्मेदवार बनेका छन् ।
हाल देशभर जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३० वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।
उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
प्रतिक्रिया