पर्वत – नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताएका छन् ।
पर्वतको फलेवास नगरपालिकास्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध निरन्तर सुमधुर रहेको बताए ।
मित्रराष्ट्रको विकास र समृद्धिका लागि सहयोग गर्न चीन सरकार सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।
हिमाल र नदीले जोडिएका नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आफ्नो मूल हितका विषयमा एकअर्कालाई निरन्तर सहयोग गर्दै आएको बताउँदै सोङले नेपालको सडक, विद्युत्, शिक्षा क्षेत्रको सुधारमा सहकार्य गरिने बताए । उनले नेपाल एक स्वतन्त्र र विकासशील राष्ट्र बनोस् भन्ने चीनको इच्छा रहेको बताए ।
राजदूत सोङले कोरला नाका सञ्चालनका लागि चीन सरकार तयार रहेको बताए । कोरला नाकामा नेपालतर्फ पनि पूर्वाधार निर्माणमा चीन सरकारले सहयोग गर्दै आएको बताउँदै उनले नाका सञ्चालनपछि २ देशको सम्बन्ध अझै बढ्दै जाने पनि बताए । पर्यटकीयस्थल पोखरामा पटक–पटक आएको भए पनि नजिकै रहेका सुन्दर ठाउँमा पनि आउन पाउँदा खुशी लागेको उनको भनाइ थियो ।
जिल्लाकै नमूना विद्यालयको रूपमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि पनि चीन सरकारले सहयोग गर्ने भएको छ । विद्यालयले भौतिक पूर्वाधार निर्माणका लागि ५० लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी नेपाल सरकारमार्फत दूतावासमा पेश गरेको छ ।
सहयोगका लागि विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय पक्षबारे अध्ययन अवलोकन गर्नका लागि राजदूत सोङ आएका प्रधानाध्यापक अर्जुन रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया