बागलुङ जीप दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

बागलुङ जीप दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो


काठमाण्डु-बागलुङको जैमिनी नगरपालिकामा सोमबार भएको जीप दुर्घटनामा मृत्यु भएको सबै पाँच जनाको सनाखत भएको छ ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको जीप जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा चालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेहरूमा जैमिनी नगरपालिका–८ केवई बस्ने जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरू २० वर्षीय रश्मी श्रीष, ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीष छन् । दुर्घटनामा जैमिनी ८ केवई बस्ने ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन् ।

जिप सडकदेखि एकसय मिटरभन्दा तल खसेको थियो ।

घाइते भएका श्रीषको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको छ ।