अध्यादेश नआएपछि एकीकृत समाजवादीका पाँच सांसद तनाबमा

अध्यादेश नआएपछि एकीकृत समाजवादीका पाँच सांसद तनाबमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका ५ सांसद पार्टी फुटाएर अरु नै पार्टीमा जान चाहिरहेका छन् । माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित १० सांसदमध्य ५ सांसदले पार्टी फुटाउन चाहे पनि अहिलेको कानुन अनुसार उनीहरूले पार्टी फुटाउन सक्दैनन् ।

आफू नेतृत्वको पार्टी फुटाएर बनाएको पार्टी फुटाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि लागिरहेका थिए । उनले अध्यादेश ल्याएर राजनीतिक दल सम्बन्धी मौजुदा कानुन परिवर्तन गरि एकीकृत समाजवादी पार्टी फुटाउने प्रयास गरेका थिए । सत्ता साझेदार दल नेपाली कांग्रेस ओलीको त्यो चाहनामा बाधक भएपछि अध्यादेश आएन ।

अध्यादेश आउने र पार्टी फुटाउने तयारीमा रहेका एकीकृत समाजवादी पार्टीका नेताहरू भने अहिले यता न उता भएका छन् । एकीकृत समाजवादीको नेतृत्व र नेताहरूसँग सम्बन्ध बिग्रिएको छ । पार्टी फुटाएर नयाँ पार्टीसँग एकीकरण गर्न कानुन बाधक छ ।

अध्यक्ष नेपालको भूमिका र पार्टीका गतिविधिप्रति असन्तुष्ट नेताहरू पार्टी विभाजनका लागि वैधानिक बाटोको समस्या भएपछि ‘घर न घाट’ भएका चर्चा परिचर्चा अहिले एकीकृत समाजवादी पार्टीभित्र चलिरहेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन उनीहरूले प्रधानमन्त्री ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरे पनि कांग्रेसको असहमतिका कारण अध्यादेश नआउँदा उनीहरूलाई गाह्रो भइरहेको छ ।

केही नेताहरूले सार्वजनिक रूपमा नै पार्टी विभाजनका लागि तयार रहेको बताएकाले पुनः पार्टीमा घुलमिल हुन गाह्रो भइरहेको निकटस्थहरू बताउँछन् ।

एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यहरू बारा–४ बाट निर्वाचित कृष्णकुमार श्रेष्ठ (किसन), बझाङबाट निर्वाचित भानुभक्त जोशी, डोटीबाट निर्वाचित प्रेमबहादुर आले, डोल्पाबाट निर्वाचित धनबहादुर बुढा र दैलेख–१ बाट निर्वाचित अम्मरबहादुर थापाले पार्टी विभाजनको तयारी गरेका थिए ।

यी मध्य नेता आलेले त आफ्नो अब एकीकृत समाजवादी पार्टीसँग कुनै साइनो नरहेको सार्वजनिक रूपमा नै बताउँदै आएका छन् । आले, बुढा र श्रेष्ठ गत असारमा भएको एकीकृत समाजवादीको पहिलो महाधिवेशनमा पनि सहभागी भएका थिएनन् ।

सांसद थापाले सार्वजनिक रूपमा नै एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालको विरोध गर्दै पार्टीको विकल्प खोजिरहेका थिए । सांसद जोशीले एकीकृत समाजवादी पार्टीले तत्काल एमालेसँग एकता गर्नुपर्ने सार्वजनिक कार्यक्रममै बताएका थिए । श्रेष्ठ भने असन्तुष्ट भएर पनि मौन देखिन्छन् ।