काठमाण्डु-यू–१९ महिला टी२० विश्वकप छनोटअन्तर्गत नेपालले आज आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ । दुबईस्थित दी सेभेन डिस्ट्रिक्ट मैदानमा हुने नेपाल र दुबईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।
आजको खेल दुबै टोलीका लागि निर्णायक मानिएको छ । आजको खेलमा जित्ने टोली मात्रै यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ । छनोटमा आयोजक युएई मात्रै त्यस्तो टोली हो, जसले हारको सामना गर्न परेको छैन । पाँच खेलमा १० अङ्क पुर्याएको युएई अङ्कमा मात्रै होइन नेट रनरेटमा पनि नेपालभन्दा अगाडि छ ।
चौथो खेलमा युएईसँग १३ रनले पराजित भएसँगै नेपाल छनोटमा पछि परेको थियो । युएईले पाँचौं खेलमा थाइल्यान्डलाई नौ विकेटले हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ ।
यस्तोमा आज हुने युएई र नेपालबीचको अन्तिम खेलले नै यो क्षेत्रबाट अर्को वर्ष मलेसियामा हुने विश्वकपमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ ।
नेपालले पहिला ब्याटिङ गर्दै १४० रन बनाउँदा युएईलाई २१ रनले पराजित गर्नुपर्नेछ । तर, युएईले ब्याटिङ गर्दा १४० को योगफल बनाए नेपालले उक्त लक्ष्य १६.१ ओभरमा पूरा गर्नुपर्नेछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो ।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
प्रतिक्रिया