काठमाण्डु-अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला स्थगित भएको छ ।
न्यूयोर्कको एक अदालतका न्यायाधीश जुआन मार्चनले नोभेम्बर १९ सम्मका लागि ट्रम्पको सुनुवाई स्थगित गरेका हुन् ।
बीबीसीका अनुसार ट्रम्पको सजाय रद्द गर्ने विषयमा मंगलबार सुनुवाइ भएको थियो । गत हप्ताको सुरुमा ट्रम्पका वकिलहरूले यस मुद्दाको सुनुवाई स्थगित गर्न अदालतसमक्ष आग्रह गरेका थिए ।
सन् २०१६ को चुनावअघि एक महिलासँगको शारीरिक सम्बन्धलाई लुकाउन ट्रम्पले व्यापारिक रेकर्डहरू हेरफेर गरेको जुरीले पत्ता लगाएपछि उनलाई गएको मे महिनामा ३४ वटा फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो ।
हालै राष्ट्रपति चुनाव जितेका ट्रम्प गत मई ३० मा पोर्न स्टार स्टर्मी डेनियललाई मौन बस्नका लागि पैसा तिरेको मुद्दामा दोषी ठहर भएका थिए । दोषी भएपछि ट्रम्पले अगस्टमा संघीय अदालतलाई मुद्दामा हस्तक्षेप गरेर सजाय रद्द गर्न आग्रह गरेका थिए । त्यसपछि संघीय अदालतले सो मुद्दालाई न्यूयोर्क अदालतमा फिर्ता पठाएको थियो ।
ट्रम्पविरुद्ध यो प्रकरण सन् २०१६ मा अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुअघिदेखि नै चलिरहेको छ । अदालतले ६ हप्तामा २२ जनाको बयान लिइसकेको छ । जसमा स्टर्मी डेनियल पनि रहेकी छिन् ।
हालै सम्पन्न निर्वाचनमा कमला ह्यारीसविरुद्ध फराकिलो जित निकालेका ट्रम्पले आउँदो जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने छन् ।
अब उनको मुद्दा खारेज भएमा ट्रम्पलाई कुनै सजाय हुनेछैन ।
प्रतिक्रिया