काठमाण्डु-विश्व वातावरणीय सुविधा (जीईएफ) ले नेपाललाई १ अर्ब ४६ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
अजरबैजानको राजधानी बाकुमा मंगलबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९)मा जीईएफसँग भएको छलफलमा नेपाललाई उक्त रकम अनुदानको रूपमा उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्मझौतासँगै जीईएफको सहयोगमा ‘म्यानेजिङ वाटर सिड्स अफ इन्हेन्स्ड रेसिलेन्स अफ कम्युनिटिज टु क्लाइमेट चेन्ज इन नेपाल (एमएडब्लूआरआईएन)’ अन्तर्गत मरिण जलाधार क्षेत्रको सिन्धुली जिल्लामा पाँच वर्षको लागि संचालनमा आउने छ ।
मरिण जलाधार क्षेत्रमा बसोबास गर्ने स्थानीयको जलवायुजन्य जोखिमको असरबाट अनुकूलन अभिवृद्धि गर्दै उत्थानशीलता वृद्धि गर्ने उद्देश्यका साथ वन तथा वातावरण मन्त्रालयले उक्त आयोजनाको संचालन गर्ने जानकारी दिएको छ ।
यो सँगै जीईएफको सहयोगमा १.६५ मिलियन अमेरिकन डलरको क्यापासिटी बिल्डिङ इनिसिएटिभ फर ट्रान्सपरेन्सी (सीबीआईटी) पनि कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया