काठमाण्डु-धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि छनोट सूचीमा परेका तीनजनालाई अन्तर्वार्तामा बोलाइएको छ ।
अर्थ मन्त्रालयले छनोट सूचीमा परेका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा.नवराज अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको हो । अन्तर्वार्ता मंसिर ९ गते बिहान ८ बजे हुनेछ ।
यसअघि असोज १८ गते उनीहरूलाई अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा अन्तर्वार्ता स्थगित भएको थियो । त्यति बेला अर्थ मन्त्रालयले विशेष कारणवश अन्तवार्ता रोक्नुपरेको बताएको थियो ।
यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो । छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।
त्यसपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आन्तरिक आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको हो । धितोपत्र बोर्ड २०८० पुस २० पछि अध्यक्षविहीन छ ।
प्रतिक्रिया