नेपालको बिजुली पहिलो पटक बंगलादेश निर्यात

नेपालको बिजुली पहिलो पटक बंगलादेश निर्यात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालले आजबाट बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमतिमा भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात सुरु भएको हो ।

नेपालका ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरे ।

योसँगै ४० मेगावाट बिजुली बंगलादेश निर्यात सुरु भएको छ ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।

त्रिदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ ।

ऊर्जामन्त्री खड्काले भारत भ्रमणका बेला बंगलादेश विद्युत् निर्यात अनुमति दिने विषयमा भारतीय विद्युतमन्त्री खट्टरसँग छलफल गरेका थिए । हालसम्म नेपालले भारतको बजारमा मात्रै विद्युत् निर्यात गरिरहेकोमा १७ असोजमा भएको सम्झौतापछि तेस्रो मुलुक निर्यातको बाटो खुलेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।

बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत‘‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्ने छ ।

नेपालबाट निर्यात हुने विद्युतका लागि भारत मुजफ्फरपुरमा मिटर राखिने र त्यसैमा बंगलादेशमा निर्यात भएको विद्युत् रेकर्ड हुने पनि सम्झौतामा छ ।

भारतबाट भने बेहरमपुर (भारत)–भेडामारा (बंगलादेश) ४ सय केभी प्रसारण लाइन हुँदै बंगलादेशले विद्युत् आपूर्ति लिनेछ ।