यसरी बन्दैछ ट्रम्पको टिम

यसरी बन्दैछ ट्रम्पको टिम

ट्रम्प सरकारमा को कस्ता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिमा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि अब उनको टिममा को को हुन्छन् भन्ने विषय चर्चामा छ । ट्रम्पले ह्वाइट हाउसको प्रशासन सम्हाल्नुअघि औपचारिक नियुक्ति गरिरहेका छन् ।

यसक्रममा ट्रम्पले केही महत्वपूर्ण पदहरूमा नियुक्ति गरेका छन् । राष्ट्रपतिको टोली आगामी वर्ष जनवरी २० मा ह्वाइट हाउसमा फर्कनुअघि ठूलो संख्यामा गरिने नियुक्ति र आफ्ना नीतिहरूलाई लिपिबद्ध गर्ने काममा व्यस्त हुनुपर्छ ।

सन् २०१६ देखि २०२० सम्म राष्ट्रपति रहेका ट्रम्पले त्यतिबेला साथमा रहेका धेरै सहकर्मी गुमाएका छन् । तर यस पटक आफूलाई निर्वाचित हुन सहयोग गर्ने र आफ्नो खराब समयमा साथ दिनेलाई नयाँ सरकारमा भूमिका दिने यसअघि नै उनले स्पष्ट गरेका छन् ।

अहिलेसम्म ट्रम्पले अमेरिकी रक्षामन्त्री, खुफिया एजेन्सी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआइए) प्रमुख तथा ह्वाइट हाउस काउन्सेल नियुक्त गरेका छन् । ट्रम्पले पीट हेगसालाई रक्षामन्त्री तथा जोन रेटक्लिफलाई सीआईए प्रमुखमा नियुक्त गरेका हुन् । त्यस्तै विलियम जोसेफ मेकगिलेलाई ह्वाइट हाउस काउन्सेलको जिम्मेवारी दिएका छन् । आफ्नो चुनावी अभियानकी सह–अध्यक्ष रहेकी सुसान वाइल्सलाई उनले ‘चिफ अफ स्टाफ’ बनाएका छन् ।

रक्षामन्त्रीमा नियुक्त भएका हेगसा पूर्वसैन्य अधिकारी हुन् । उनी सैनिकहरूको दुई वकालत समूहको प्रमुख पनि रहिसकेका छन् । हाल भने उनी फक्स न्युजका होस्ट थिए ।

सिआइए प्रमुखमा रेटक्लिफ ट्रम्पको पहिलो कार्यकालको अन्तिम महिनाको लागि राष्ट्रिय खुफिया निर्देशकको रूपमा सेवा गरेका हुन् । उनी अमेरिकाको नेशनल इन्टेलिजेन्सको पूर्वनिर्देशक रहिसकेका छन् । कोरोना भाइरस महामारीको समयमा अमेरिकी जासुस एजेन्सीहरूको उनले नेतृत्व गरेका थिए । अमेरिकी सरकारले २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने विदेशी प्रयासहरूको पनि उनले संघर्ष गरेका हुन् ।

उनी २०१४ मा कांग्रेसमा निर्वाचित भएका थिए । तर २०१९ मा ट्रम्पविरुद्ध लागेको पहिलो महाभियोगका क्रममा रक्षाकवचका रूपमा दृढतासाथ उभिएका थिए ।
ट्रम्पको महाभियोग सल्लाहकार टोलीको सदस्य रहँदै महाभियोग सुनुवाइको क्रममा साक्षीहरूसँग कडा प्रश्न गरेर चर्चामा आएका थिए ।

ट्रम्पले आफ्नो भनाइलाई सही साबित गर्दै चुनावी अभियानलाई व्यवस्थित र अनुशासित बनाउन भूमिका खेलेकी वाइल्सलाई ह्वाइटहाउसको ‘चिफ अफ स्टाफ’ नियुक्त गरेका हुन् ।

वाइल्सको भूमिका राष्ट्रपतिको शीर्ष सहयोगीको रूपमा मात्र होइन, राष्ट्रपति कार्यालयका कर्मचारी व्यवस्थापन र दैनिक कार्यहरूको निरीक्षणसमेत रहेको छ । अमेरिकामा राष्ट्रपतिको कामको प्रमुख जिम्मेवारको रूपमा ‘चिफ अफ स्टाफ’लाई हेर्ने गरिन्छ ।

६७ वर्षीय वाइल्स दशकौंदेखि रिपब्लिकन राजनीतिमा सक्रिय छन् । सन् १९८० मा रोनाल्ड रेगनको चुनावी अभियानदेखि लिएर सन् २०१० मा व्यापारी रिक स्कटलाई फ्लोरिडाको गभर्नर बनाउने अभियानमा उनको भूमिका रहेको छ ।

त्यसैगरी ट्रम्पको दोस्रो कार्यकालको सबैभन्दा महत्वपूर्ण निर्णय न्याय विभागको प्रमुखको नियुक्तिसँग सम्बन्धित छ । वास्तवमा ट्रम्पको पहिलो कार्यकालमा महान्यायाधिवक्ता भएका जेफ सेसन्स र विलियम बारसँग ट्रम्पको सम्बन्ध असन्तुलित थियो ।

महान्यायाधिवक्ताको रूपमा फ्लोरिडाका रिपब्लिकन सांसद म्याट गेट्जलाई चुनेका छन् । महान्यायधिवक्ताको भूमिकामा गेट्ज ट्रम्पको दोस्रो कार्यकालको लागि महत्वपूर्ण हुनेछ । अध्यागमन, प्रजनन स्वास्थ्य र उनले चुनावी अभियानमा वाचा गरेको राजनीतिक प्रतिशोध सम्बन्धी नीति लागू गर्न मद्दत गर्नेछ ।

गेट्जले लामो समयदेखि न्याय विभागलाई राष्ट्रपति जो बाइडेनको नेतृत्वमा ट्रम्पलगायतका रूढिवादीहरूविरुद्ध हतियार प्रयोग गरेको आरोप लगाएका छन् । ट्रम्पले आफ्नो प्रचारमा निकै खटिएका धनाड्य एलन मस्कसँगै विवेक रामास्वामीलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीको जिम्मेवारी दिएका छन् ।

ट्रम्प निर्वाचित भएपछि अब मस्कले उनका कम्पनीहरू टेस्ला, स्पेसएक्स र एक्सलाई असर गर्ने नियमहरूलाई कमजोर वा आकार दिने र त्यसको लाभ उठाउने आशंका पनि गरेका छन् ।

मस्कले ट्रम्प सरकारमा ‘सरकारी दक्षता विभाग’ को नेतृत्व गर्ने यसअघि नै बताएका थिए । ट्रम्पले पनि आफूलाई जिताउन मस्कले खेलेको भूमिकाको सार्वजनिक रूपमा नै प्रशंसा गरेका छन् ।

त्यस्तै ट्रम्पको दोस्रो कार्यकालमा महत्वपूर्ण पद होमल्यान्ड सेक्युरिटी अफ सेक्रेटरीको छ । ट्रम्पले चुनावमा प्रमुख मुद्दा बनाएको अनिधिकृत आप्रवासीलाई देशबाट निकाल्ने काम गर्नसक्ने व्यक्तिलाई यस पदमा नियुक्ति गर्नुपर्ने छ । यसका लागि उनले होमल्याण्ड सेक्युरिटी विभागको नेतृत्व गर्न साउथ डकोटाका गभर्नर क्रिस्टी नोएमलाई छानेका छन् ।

५२ वर्षीया नाएम एक पूर्व राज्य विधायक र २०१६ मा साउथ डकोटाको गभर्नर भएकी हुन् । २०२२ मा पुनः निर्वाचित भएकी चार पटक कांग्रेसमा सदस्य भएकी हुन् ।