रवि लामिछानेलाई साढे २३ घण्टामा ७४ प्रश्न सोधेर भैरहवाबाट पोखरा फर्काइयो

रवि लामिछानेलाई साढे २३ घण्टामा ७४ प्रश्न सोधेर भैरहवाबाट पोखरा फर्काइयो

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लगि रकम अपचलन गरेको अभियोगमा रुपन्देहीमा बयानका लागि लगिएका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साढे २३ घण्टामा ७४ प्रश्न सोधिएको छ ।

लामिछानेसँग मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टा बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

मंगलबार मध्यान्न कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका लामिछानेसँग साढे २३ घण्टामा ७४ प्रश्न सोधिएको न्यायधिवक्ता पौडेलले जानकारी दिए ।

उनलाई आज यति एअरलाइन्सको विमानबाट साढे एक बजे पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिए ।

लामिछानेसँग बिहिबार बिहान साढे १० देखि राति ८ बजेसम्म बयान लिइएको थियो ।

ईलाका प्रहरी कार्यालय बुटवलले सहकारी ठगीमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा चलाएपछि अदालतको आदेश अनुसार पक्राउ पूर्जी समेत जारी भएको थियो ।

सुप्रिमबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबीन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।