राष्ट्रिय झण्डा ओढाएर गण्डकीकी सांसद गौचनको अन्तिम विदाइ

राष्ट्रिय झण्डा ओढाएर गण्डकीकी सांसद गौचनको अन्तिम विदाइ


काठमाण्डु-गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले शनिवार पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

गौचनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि प्रदेशसभाको प्राङ्गणमा राखिएको थियो ।

त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाए । थकाली सेवा समितिले आफ्नो परम्पराअनुसार श्रद्धाञ्जली व्यक्त गरेको थियो ।

मुस्ताङको कोबाङमा २०१८ असार १८ गते जन्मिएकी गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ । गौचनको कात्तिक २८ गते राति काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।

उनी नेपाली कांग्रेसका तर्फबाट २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएकी थिईन् । उनी प्रदेशसभा अर्थ तथा विकास समितिको सदस्य थिइन् ।

गौचनको म्याग्दीमा लगेर दाहसंस्कार गरिने परिवारजनले जनाएको छ । गौचनका एक छोरा र एक छोरी छन् ।