काठमाण्डु-सामाजिक सञ्जाल प्लाटफर्म ब्लुस्काई अहिले व्यापक चर्चामा छ । विश्वव्यापी रूपमा अत्यधिक डाउनलोड भएपछि बिहीबार ब्लुस्काइ अवरुद्ध भएको थियो । अमेरिकी राष्ट्रपतीय चुनावपछि २० लाखभन्दा बढी प्रयोगकर्ता ब्लुस्काईतर्फ आकर्षित भए । जसका कारण यस एपका प्रयोगकर्ताहरूको संख्या हालसम्म १ करोड ६७ लाख पुगेको छ । पछिल्ला ९० दिनमा यो संख्या दोब्बरले वृद्धि भएको हो ।
विशेषगरी उत्तरी अमेरिका र बेलायतबाट ठूलो संख्यामा मानिसहरूले ब्लुस्काई चलाउन थालेको द गार्डियनले जनाएको छ । यसले गर्दा गत सेप्टेम्बरमा ९० लाख प्रयोगकर्ता रहेको एपमा अहिले संख्या बढिरहेको छ । एकै दिनमा ५ लाख नयाँ प्रयोगकर्ता थपिइरहेको कम्पनीको दाबी छ । ब्लुस्काईमा यसरी नयाँ प्रयोगकर्ताको संख्या बढाउन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले भूमिका खेलेको छ ।
विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कको स्वामित्वमा रहेको एक्स (ट्वीटर) बहिष्कार गर्दै कतिपयले यसको वैकल्पिक प्लाटफर्मका रूपमा ब्लुस्काईलाई लिएका छन् ।
अमेरिकी चुनावपछि एक्समा घृणास्पद अभिव्यक्तिहरू वृद्धि भएको भन्दै प्रयोगकर्ताहरू नयाँ प्लाटफर्ममा आकर्षिक भएका हुन् । चुनावमा डेमोक्रेट उम्मेदवार कमला ह्यारिसलाई समर्थन गरेकी गायिका टेलर स्विफ्टका फ्यानहरू पनि एक्सबाट ब्लुस्काईमा सर्नेमध्ये पर्छन् ।
चुनावका बेला एक्सका मालिक इलन मस्क ट्रम्पका ठूला समर्थकका रूपमा देखिए भने ट्रम्प प्रशासनमा उनले सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ । ट्रम्पले हालै घोषणा गरेको नयाँ निकाय, सरकारी दक्षता विभागको नेतृत्व मस्कलाई सुम्पिने बताइसकेका छन् । ट्रम्प र मस्को ब्रोमान्सले राजनीतिक विभाजन ल्याएको छ । यसले गर्दा केही मानिसहरू विरोधस्वरूप एक्स छोडिरहेका छन् ।
बेलायती सञ्चार माध्यम द गार्डियनले चाहिँ एक्सलाई ‘विषाक्त सञ्चार माध्यम प्लाटफर्म’ को संज्ञा दिँदै त्यहाँ आफ्ना सामग्री पोस्ट नगर्ने घोषणा गरेको छ । यो प्लाटफर्मले मस्कलाई राजनीतिमा धेरै प्रभाव सिर्जना गर्ने अवसर दिएको गार्डियनको ठहर छ ।
गार्डियनले एक्स छोडे पनि अर्को प्लाटफर्ममा जाने उल्लेख गरेको छैन । तर, थुप्रै अमेरिकी पत्रकारहरूले भने एक्सबाट बिदा हुँदै ब्लुस्काईतिर खाता खोलिरहेका छन् ।
एटलान्टिकका चार्ली वार्जेल, न्यु योर्क टाइम्सका मारा गे, सीएनएनका पूर्व प्रस्तोता डन लेमन लगायत पत्रकारहरू अहिले ब्लुस्काईमा छन् । यसलाई एक्सको विकल्पका रूपमा प्रयोगकर्ताले चलाउन थालेका छन् ।
‘पहिलाको ट्वीटरजस्तै सामाजिक सञ्जालको अनुभव चाहने प्रयोगकर्तालाई ब्लुस्काई राम्रो विकल्प बनेको छ,’ सामाजिक सञ्जालसम्बन्धी अनुसन्धान गर्ने एक्सेल ब्रुन्सको भनाइ छ, ‘उनीहरू यसमा उग्र दक्षिणपन्थी गतिविधि, मिथ्या सूचना, घृणास्पद अभिव्यक्ती, बट एकाउन्ट र अन्य समस्याहरूबाट मुक्त हुन चाहन्छन् ।’
सीएनएनका अनुसार चुनावको भोलिपल्ट नै १ लाख १५ हजारभन्दा धेरै एक्स प्रयोगकर्ताले आफ्नो खाता डिएक्टिभेट अर्थात निष्क्रिय बनाएका थिए । यो मस्कले कम्पनी खरिद गरेयता एकै दिनमा एक्स छोड्ने सबैभन्दा ठूलो संख्या हो । तर त्यही दिन एक्समा वर्षभरिकै सबैभन्दा धेरै ट्राफिक देखिएको सीएनएनले रिसर्च फार्म सिमिलर वेबलाई उद्धृत गरेर लेखेको छ । मस्कका अनुसार एक्समा दैनिक सक्रिय प्रयोगकर्ता २५ करोड छन् ।
सन् २०२२ मा तत्कालिन ट्वीटर खरिद गरेर इलन मस्कले यसको नीलो चेकमार्क, सबस्क्रिप्सन र अन्य फिचरहरूमा फेरबदल गरेपछि ट्वीटरका थुप्रै प्रयोगकर्ता एवं प्रभावशाली व्यक्तीहरू ब्लुस्काईजस्ता वैकल्पिक प्लाटफर्मतिर मोडिएका थिए । सन् २०१९ मा ट्वीटरले नै सञ्चालनमा ल्याएको ब्लुस्काई ठ्याक्कै पहिलाको ट्वीटरजस्तै देखिन्छ ।
ट्वीटरका पूर्वप्रमुख ज्याक डोर्सीले नै ब्लुस्काई पनि बनाएका थिए । तर हाल ब्लुस्काई ट्वीटर र डोर्सी दुवैबाट अलग भइसकेको छ ।
प्रतिक्रिया