१० देशका नागरिकले स्क्यानमार्फत् नेपालमा भुक्तानी गर्न सक्ने

१० देशका नागरिकले स्क्यानमार्फत् नेपालमा भुक्तानी गर्न सक्ने


काठमाण्डु- युरोपसहित १० देशका नागरिकले क्यूआर कोड प्रयोग गरेर आफ्नो देशको सम्बन्धित बैंक एपमार्फत् नेपालमा स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् ।

नेपाल क्लियरिङ हाउसका सूचना अधिकृत मुन्नी राजभण्डारीले  चीन, हङकङ, मकाउ, सिङ्गापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटालीका नागरिकले आफ्नै देशको बैंक एपको क्यूआर कोड प्रयोग गरी नेपालमा स्क्यानमार्फत् भुक्तानी गर्न सकिने जानकारी दिइन् ।

ती देशहरूबाट क्यूआर कोडमार्फत् भुक्तानी सेवा नोभेम्बर ७ मा सुरु भएको छ । ‘सूचीबद्ध देशका नागरिकले अब नेपालमा स्क्यान गरी भुक्तानी गर्न सक्ने छन्, उनले भनिन्, ‘दोस्रो चरणमा नेपाली नागरिकले पनि ती देशहरूमा भुक्तानी सुरु गर्ने विषयमा प्रयास भइरहेको छ ।’

सेवा सुरु गर्न धेरै पक्ष लाग्ने भएकाले निश्चित समयावधि खुलाउन नसकिने उनले बताइन् । नेपाल क्लियरिङ हाउस नेपाल राष्ट्र बैंक र नेपालका बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्धित पब्लिक लिमिटेड कम्पनी हो । यसले बहुराष्ट्रिय भुक्तानी प्रणालीको कार्यान्वयन र सञ्चालन गर्छ ।

विदेशी नागरिकले आफ्नै देशको बैंक एपमार्फत् रकम भुक्तानी गर्ने सुविधाबाट नेपालको पर्यटन क्षेत्रलाई फाइदा पुग्ने अधिकारीहरू बताउँछन् ।

‘हामीले भारतमा क्युआर कोड भुक्तानी सुरु गर्न तयार छौं, तर यो सरकारी स्तरको पहल भएकाले सरकारले घोषणा नगरेसम्म सेवा सुरु हुन सक्दैन,’ राजभण्डारीले भनिन् ।

गत वर्ष जुन १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्तै मार्च १ मा नेपालमा रहेका भारतीयहरूलाई उनीहरूको मोबाइल फोनबाट भुक्तानी गर्न अनुमति दिइएको थियो ।