कैलाली – सत्ता गठबन्धन निर्माण गर्दा प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन एक्लाएक्लै लड्ने बताएका थिए । तर, त्यो उनीहरूको धारणा १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भने बदलिएको छ । अर्थात कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका उम्मेदवारलाई एमालेले सहयोग गर्ने भएको छ ।
कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र एमाले कैलालीका इन्चार्ज नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज ढुंगाना, सचिव ममता चौधरीलगायतका नेताबीच सहमति भएको हो।
१६ मंसिरमा हुन लागेको उपनिर्वाचनमा कांग्रेसले प्रमुखमा टीका कुमारी चौधरी (भुल)लाई उम्मेदवार बनाएको छ । आज भएको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक बनेकी छिन्।
टिका कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन्।
२०७९ साल पुस २३ मा जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधनपश्चात् कार्यवाहक प्रमुखको भरमा समन्वय समिति चलिरहेकोमा १६ मंसिरमा निर्वाचन हुन लागेको हो ।
त्यहाँ नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र स्वतन्त्रका जनप्रतिनिधिको मतदान गर्न पाउने छन्।
प्रतिक्रिया