काठमाण्डु – मंसिर १६ मा हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा चार राजनीतिक दलले उम्मेदवार नउठाउने भएका छन् । निर्वाचन आयोगमा दर्ता भएका साना दलले भने उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएका हुन् ।
राष्ट्रिय जनमोर्चा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा बहुमत र नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा उम्मेदवार नउठाउने र भाग पनि नलिने बताएका हुन् ।
चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा २०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनमा रहेको निर्वाचनमा होमिएको थियो । केसी अहिले प्रतिनिधि सभा सदस्य छन् । तर, सो पार्टीले १६ मंसिरमा हुन लागेको स्थानीय तहको तह उपनिर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छ । आफ्ना समर्थक तथा शुभेच्छुकलाई अन्य दलका उम्मेदवारलाई समर्थन गर्ने वा नगर्ने विषयमा कुनै निर्देशन पनि पार्टीले दिएको छैन ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । २०७० को संविधानसभा निर्वाचनदेखि यो पार्टीले निर्वाचन बहिस्कार गर्दै आएको छ ।
ध्रमेन्द्र बास्तोला संयोजक रहेको नेकपा बहुमतले पनि स्थानीय तह उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको संयोजक बास्तोलाले जानकारी दिए ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि स्थानीय तह उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ । गत वैशाखमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले ०८४ मा हुने आम निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
यी सबै दल निर्वाचन आयोगमा भने दर्ता भएका छन् ।
प्रतिक्रिया