काठमाण्डु- बंगलादेशले भारतलाई त्यहाँ शरण लिएर बसेकी अपदस्थ प्रधानमन्त्री शेख हसिनलाई सुपुर्दगी गर्न आग्रह गरेको छ । बंगलादेशका अन्तरिम सरकारका प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अगस्टमा भएको जनआन्दोलनबाट भागेर भारतमा निर्वासनमा रहेकी अपदस्थ प्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न आग्रह गरेका हुन् ।
आफ्नो कार्यकालको पहिलो १०० दिन पुगेको अवसरमा राष्टका नाममा सम्बोधन गर्दै युनुसले हसिनालाई स्वदेश फिर्ता ल्याउन सहयोग गर्न भारतलाई आग्रह गरेका हुन् । हसिनाको १५ वर्षको शासनविरुद्ध भएको विद्यार्थी विद्रोहको क्रममा सयौंको मृत्युका लागि हसिना जिम्मेवार रहेको पनि युनुसले बताएका छन् ।
अन्तरिम सरकारका अनुसार विद्रोहमा कम्तिमा ७५३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । जसलाई ‘मानवता विरुद्धको अपराध र नरसंहार’ भनिएको छ । हसिना र उनको पार्टीका नेताहरूविरुद्ध मानवताविरुद्धको अपराध र नरसंहारका ६० भन्दा बढी मुद्दा दर्ता भएका छन् ।
विद्यार्थी विद्रोह नियन्त्रण बाहिर गएपछि हसिना भागेर भारत निर्वासित भएकी हुन् । उनी देशबाट भागेको तीन दिनपछि युनुसले अगस्ट ८ मा सरकारको नेतृत्व सम्हालेका हुन् । उनले विद्रोहमा भएका मृत्यु मात्र नभएर हसिना सत्तामा रहँदा जबर्जस्ती बेपत्ता लगायतका मानवअधिकार उल्लंघनका सबै घटनाको छानबिन गरिने पनि बताएका छन् ।
बंगलादेशले विश्व प्रहरी संगठन इन्टरपोलसँग हसिना र उनका सहयोगीहरूलाई पक्राउ गर्न ‘रेड नोटिस’ जारी गर्न मद्दत मागेको छ । भारत पनि इन्टरपोलको सदस्य हो । तर ‘रेड नोटिस’ जारी हुँदैमा नयाँदिल्लीले हसिनालाई सुम्पिनुपर्छ भन्ने होइन ।
‘हामी भारतलाई तानाशाह शेख हसिनाको स्वदेश फिर्ताको अपेक्षा राखेका छौं । यस विषयमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीस)का प्रमुख अभियोजक करिम खानसँग पनि छलफल गरिसकेको छु’ युनुसले भनेका छन् ।
हसिना र उनका नजिकका सहयोगीहरू कैयौं आपराधिक आरोपहरूको सामना गरिरहेका छन् । युनुस नेतृत्वको सरकारले पनि आईसीसीलाई मुद्दा उठाउन दबाब दिइरहेको छ ।
हसिनाको सुपुर्दगी खोज्नु भारतका लागि चुनौती खडा भएको छ । किनभने भारतले उनलाई एक विश्वसनीय मित्रको रूपमा व्यवहार गरिरहेको छ । युनुसले आफ्नो सरकारको सबैभन्दा महत्वपूर्ण काम निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरी नयाँ निर्वाचन गराउनु रहेको बताएका छन् । तर उनले निर्वाचनको कुनै समयसीमा भने खुलाएनन् ।
प्रतिक्रिया