सुदूरपश्चिम-नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने ‘सुदूरपश्चिम रोयल्स’ क्लब र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) बीच ‘एजुकेसन पार्टनर’ का लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौतापछि आज क्लबका मालिक स्वतन्त्रप्रताप शाहले सुदूरपश्चिममा क्रिकेटको विकास गर्ने लक्ष्य लिइरहँदा एसपिएसँग सहकार्य गर्न पाउनु उपलब्धिपूर्ण भएको बताए । एसपिएका प्रबन्ध निर्देशक सुभाष शाहीले सम्झौताले क्रिकेटका माध्यमबाट खेलकुदलाई नयाँ उचाइमा पुर्याउन सक्ने विश्वास व्यक्त गरे।
एसपिएले नेपाल क्यान निलम्बनमा रहँदा फ्रेन्चाइज लिगको अवधारणाअनुसार धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गरेर नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो । धनगढीलाई क्रिकेटको सहरका रूपमा चिनाउन एसपिएले निरन्तर योगदान दिइरहेको छ ।
‘सुदूरपश्चिम रोयल्स’को टोलीलाई सोमबार धनगढीमा स्वागत गरिएको थियो । यसअघि एनपिएलका लागि फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल्स’ले धनगढीको क्रिकेट मैदानमा ‘ट्यालेन्ट हन्ट’ पनि पूरा गरिसकेको छ । रोयल्सले धनगढीको फाप्ला खेल मैदान र महेन्द्रनगरमा बन्द प्रशिक्षण थालेको छ ।
रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडी ब्रान्डन मक्मलेन (स्कटल्याण्ड), सेफअलि जेब (इङ्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (युएई) लाई अनुबन्ध गरिसकेको छ । टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् । यही मङ्सिर १५ देखि आगामी पुस ६ गतेसम्म काठमाडौँमा हुने एनपिएलमा रोयल्स टोलीको प्रमुख प्रशिक्षकमा जगत टमटा छन् ।
८ टिमको सहभागिता रहने एनपिएलमा ‘सुदूरपश्चिम रोयल्स’को मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् ।
प्रतिक्रिया