काठमाण्डु – यसै हप्ताको सुरुमा पाकिस्तानबाट बंगलादेशका लागि समुद्री मार्ग हुँदै सामानको सिधा ढुवानी भयो । मालबाहक पानीजहाजमार्फत् बंगलादेशमा उतारिएका कन्टेनरहरू हेर्दा लाग्थ्यो पाकिस्तान र बंगलादेशबीच अब दूरी छैन ।
अधिकारीहरूका अनुसार पाकिस्तानबाट बंगलादेश आएको यो दशकौं पछिको पहिलो ढुवानी थियो । सन् १९७१ को युद्धपछि यी दुई देश विभाजित भएका थिए । त्यसपछि बंगलादेश पाकिस्तानको जन्मजात प्रतिद्वन्द्वी र भारतसँग नजिक भएको थियो ।
तर गत अगष्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले बंगलादेशकी तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि स्थिति बदलिएको छ । पनामाको ध्वजाबाहक युआन सियाङ फा झान नामक १८२ मिटर (५९७ फिट) लामो कन्टेनर जहाज पाकिस्तानको कराँचीबाट बंगलादेशको चटगाउँ पुगेर नोभेम्बर ११ मा फर्किसकेको छ ।
चटगाँउ बन्दरगाहका अधिकारीहरूका अनुसार जहाजले पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) बाट सामानहरू ल्याएको थियो, जसमा बंगलादेशको प्रमुख गार्मेन्ट उद्योगका लागि कच्चा पदार्थ र आधारभूत खाद्य पदार्थहरू समावेश थिए । गत सेप्टेम्बरमा बंगलादेशले पाकिस्तानी सामानको आयातमा लगाएको प्रतिबन्धलाई खुकुलो बनाएको थियो । प्रतिबन्ध पहिले सामानको आगमनमा भौतिक निरीक्षण अनिवार्य गरिएका कारण ढुवानीमा निकै ढिलाइ हुन्थ्यो ।
यसअघि, पाकिस्तानी सामानहरू बंगलादेश जानुअघि सामान्यतया श्रीलंका, मलेसिया वा सिंगापुरका फिडर जहाजहरूमा लोड गर्नुपर्ने बाध्यता हुन्थ्यो ।
पाकिस्तान र बंगलादेशबीच सुरु भएको दशकौं पछिको यो द्विपक्षीय व्यापारबाट भारतको चिन्ता बढेको छ । आखिर के कारणले दुई देश नजिकिएको भन्ने विषयमा भारतमा अनेकौं तकवितर्क र बहस चलिरहेको छ ।
भारत र पाकिस्तानबचीच १९७१ भएको युद्धबाट बंगलादेश स्वतन्त्र राष्ट्र बनेको हो । बंगलादेश बने पनि उसको पाकिस्तानसँग सदैव कुटतापूर्ण सम्बन्ध रह्यो । अहिले हसिना सत्ताबाट हटेपछि बंगलादेशको भारतसँग सम्बन्ध बिग्रिएको छ । जसको फाइदा पाकिस्तानले उठाएको छ र बंगलादेशसँग सम्बन्ध थप बलियो बनाउन चाहेको छ ।
बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद यूनुस पछिल्लो महिना न्युयोर्कमा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग भेटघाट गरी दुवै देशबीच आपसी सम्बन्धलाई नयाँ शिराबाट बलियो बनाउने विषयमा जोड दिएका थिए । उनले दुई देशलाई समुद्री सम्पर्कमार्फत् जोड्न आग्रह गरेका थिए ।
भारतको चिन्ता
बंगलादेश र पाकिस्तानबीच बढेको सम्बन्धबाट भारत चिन्तित बनेको छ । बंगलादेश र पाकिस्तानबीच सीधा समुद्री सम्पर्क भएपछि भारतको पूर्वोत्तर राज्यमा सुरक्षा र पृथकतावादीले नयाँ ऊर्जा पाउने भारतको आशंका छ । राजनीतिक विश्लेषक शिखा मुखर्जी भन्छिन, ‘भारतको पूर्वोत्तर राज्य आफै अशान्त छ । भारत आफ्नो आन्तरिक समस्या सम्हाल्न असमर्थ छ । अर्को तर्फ हसिना सत्तामा रहँदा बंगलादेशबाट भारतलाई खतरा थिएन । तर अहिले त्यहाँबाट पनि भारतलाई खतरा देखिएको छ ।’
मणिपुरको समस्याले क्यान्सरको रूप लिएको छ । नागाल्याण्डको अवस्था पनि अत्यन्तै खराब छ । नागा संगठनहरूले छुट्टै राज्यको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् ।
‘केन्द्र सरकारको गलत नीतिका कारण पूर्वोत्तर राज्य अशान्त छ । र, बंगलादेशमा पैदा भएको भारत विरोधी भावनाका कारण पनि खतरनाक स्थिति हुन सक्छ’, शिखा भन्छिन् । भारतीय विश्लेषकहरूका अनुसार अब पाकिस्तानी जहाज सिधा चटगाँउ पुग्नेछ । र यस्ता जहाज अवैध हथियारको ओसारपसारको माध्यम बन्न सक्छ ।
सन् २००४ मा चटगाँउ बन्दरगाहमा ठुलो मात्रमा अवैध हतियार भेटिएको थियो । चीन निर्मित ती हतियारहरू असामका पृथक्तावादी उग्रवादी संगठन युनाइटेड लिबरेशन फ्रन्ट आफ असमलाई दिनका लागि ल्याइएको थियो । यस घटनाको पछाडि पाकिस्तानको जासुस एजेन्सी आईएसआईको हात रहेको दाबी गरिन्छ ।
जनकारहरूका अनुसार बंगलादेशमा हसिनाको कार्यकाल जति शान्त पूर्वी राज्यहरू थियो, त्यति आज छैन ।
चटगाँउ बन्दगरगाह सामरिक रूपले भारत र बंगलादेशका लागि महत्वपूर्ण हो । पूर्वोत्तर भारतको पृथकतावादीको शरणस्थली र हथियारको ओसारपसारका लागि कुख्यात म्यान्मार पनि चटगाव बन्दरगाहभन्दा धेरै टाढा छैन ।
यस क्षेत्रसम्म पाकिस्तानी जहाज नियमित छ भने यो क्षेत्र भू-राजनीतिक हिसाबले पनि महत्वपूर्ण छ । बंगलादेश र पाकिस्तानबीच सुरु भएको सीधा समुद्री सम्पर्क राजनीतिक, सामरिक र कुटनीतिक रूपमा अत्यन्तै जटिल मुद्दा बनेको छ ।
प्रतिक्रिया