काठमाण्डु – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन गरिने बताएका छन् ।
बुधबार काठमाण्डुमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५औं स्थापना दिवसको अवसरमा संविधान कार्यान्वयनमा कानूनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै सभापति देउवाले संविधान संशोधनको विषय प्रस्ट पारे ।
भारत लगायतका देशमा पनि सोही व्यवस्था रहेको उल्लेख गर्दै उनले उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्ने सहमति भइसकेको बताए । उनले प्रजातन्त्रको लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले जेल जीवन बिताउनुपरेको उल्लेख गर्दै प्रजातन्त्रको विरुद्धमा संविधान संशोधन नहुने बताए ।
उनले भने, ‘संविधान संशोधन किन भनिरहेका छन् ? यसमा एउटा कुरा भनिहालौं । जस्तोः उपराष्ट्रपतिको जस्तो भारतमा व्यवस्था छ, त्यस्तै उपराष्ट्रपति ल्याएर राष्ट्रियसभा अध्यक्ष बनाउने खास हाम्रो सल्लाह भएर नै संविधान संशोधन भनिएको हो । अरु प्रजातन्त्रको खिलाफमा, प्रजातन्त्रलाई कमजोर बनाउने कुरा मै मान्दिनँ । धेरै लडेको मान्छे हो प्रजातन्त्रको लागि, जेल परेको मान्छे हो । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो ।’
नेपालको प्रजातन्त्रलाई मर्न नदिने र बलियो बनाउने गरी डेमोक्र्याटिक लयर्स एशोसिएशनले काम अघि बढाउनुपर्ने उनले बताए ।
प्रतिक्रिया