काठमाण्डु-बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक लगाएको छ । राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द रहने छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राति सात घण्टा सवारी साधन सञ्चालन बन्द गरिने जानकारी दिएको हो ।
रातिको समयमा राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको छ ।
धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ । अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राती गाडी नचलाउन आग्रह गरिएको हो ।
यसैबीच गत असोज दोस्रो साता बाढीपहिरोका कारण क्षतिग्रस्त भइ अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा लगाइएको रोकसमेत कायमै छ ।
सुक्खा पहिरो जानसक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो । सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउनसक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको हो ।
असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवाहक बस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।
प्रतिक्रिया